Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको परीक्षण गरेको छ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका लागि यातायात कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सार्वजनिक सवारीसाधनको अनुगमन तथा यान्त्रिक परीक्षण गरेका हुन्।
यातायात कार्यालय र ट्राफिक प्रहरीले जिल्लाको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा बुधबार सवारीसाधनको यान्त्रिक परीक्षण गरेको यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। अनुगमन टोलीले सवारी जाँचका क्रममा डिजेल इन्जिनको स्मोक मिटर मेसिन प्रयोग गरी प्रदूषण परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा मापदण्डभित्र नभएका, अत्याधिक वायु प्रदूषण गर्ने सवारीसाधनलाई दुई साताभित्र मर्मतसम्भार गरी पुनः परीक्षणका लागि आउन अनुरोध गरी पठाएको यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी पवन बजागाईंले जानकारी दिए।
यातायात व्यवस्था कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख राजुप्रसाद मैनालीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि सवारी धनी तथा चालकलाई आफ्नो सवारीको अवस्था दुरुस्त राख्नका लागि सवारीसाधनको चेकजाँच तथा यान्त्रिक परीक्षण सुरु गरिएको जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार