Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
एप्पल र सामसङले शीर्ष दस सर्वाधिक बिक्री हुने फोनहरूको सूचीमा प्रभुत्व जमाएका छन्। सर्वाधिक बिक्री हुने शीर्ष दस फोनहरू मध्ये नौवटा स्थानमा यी दुई ब्राण्डहरूले ओगटेका छन्। एप्पल र सामसङ बाहेक शीर्ष दस भित्र एक मात्र ब्राण्डको रुपमा शाओमी पनि समावेश हुन सफल भएको काउन्टरपोइन्ट रिसर्चको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।
आइफोन १६ यस वर्षको पहिलो तीन महिनाको अवधिमा सर्वाधिक बिक्री हुने डिभाइस बन्न सफल भएको छ। साथै आइफोन १६ सन् २०२३ पछि पहिलो पटक राम्रो बिक्री गर्ने आधारभूत आइफोन मोडेल बनेको उल्लेख गरिएको छ। यो डिभाइसले मध्य पूर्व र अफ्रिका क्षेत्रका साथै जापानमा विशेष गरी राम्रो प्रदर्शन गरेको र यसले आफ्नो उच्चतम वृद्धिको पनि रेकर्ड गरेको बताइएको छ।
त्यसैगरी १६ प्रो म्याक्स दोस्रो स्थानमा आउन सफल भएको छ भने त्यसपछि तेस्रो स्थानमा १६ प्रो रहेको बताइएको छ। १६ प्रो सिरिजका मोडेलहरूले पहिलो त्रैमासिकमा एप्पलको कुल आइफोन बिक्रीको लगभग आधा हिस्सा ओगटेका छन्।
चौथो स्थानमा भने आइफोन १५ रहेको छ र त्यसपछि सामसङको सर्वाधिक बिक्री हुने डिभाइसको रुपमा ग्यालेक्सी ए१६ फाइभजी पाँचौं स्थानमा रहेको छ।
सूचीको छैटौं स्थानमा ग्यालेक्सी ए०६ र सातौं स्थानमा ग्यालेक्सी एस२५ अल्ट्रा रहेको छ जुन शीर्ष दसमा ब्राण्डको एक मात्र प्रिमियम सेगमेन्ट डिभाइस भएको बताइएको छ। त्यसपछि आठौं स्थानमा रेडमी १४सी रहेको छ जुन शाओमीको तर्फबाट शीर्ष दसमा पर्न सफल एक मात्र डिभाइस भएको, बताइएको छ। त्यसैगरी नवौं स्थानमा ग्यालेक्सी ए५५ र दशौं स्थानमा आइफोन १६ प्लस रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार