आन्तरिक राजस्व सूचना प्रणालीमा विजिनेस प्रोसेस रिइन्जिनियरिङ्ग गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
आन्तरिक राजस्व सूचना प्रणालीमा विजिनेस प्रोसेस रिइन्जिनियरिङ्ग गरिने

काठमाडौं ।

सरकारले राजस्व प्रशासनको विशिष्टिकरण, क्षमता विकास र दक्षता अभिवृद्धि गर्दै राजस्व सेवालाई पेपरलेस, कन्ट्याक्टलेस तथा फेसलेस बनाउँदै लगिने घोषणा गरेको छ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व सूचना प्रणालीमा समयानुकूल परिवर्तन गर्न विजिनेस प्रोसेस रिइन्जिनियरिङ्ग गरिने बताए।

“यसबाट कार्यप्रक्रियामा सरलता आई कर परिपालना र संकलन लागतमा कमी आउने विश्वास लिएको छु,” उनले भने।

आन्तरिक राजस्व परिचालन रणनीति र भन्सार सुधार तथा आधुनिकीकरण कार्ययोजना बमोजिमका सुधार कार्यलाई तीब्रता दिइनेछ।

राष्ट्रिय एकद्वार सूचना प्रणालीको दायरा विस्तार गरी वैदेशिक व्यापारमा सहजीकरण गरिने अर्थमन्त्री पौडेलले भने।

यसैगरी उनले राजस्व चुहावट नियन्त्रण गर्न इन्टेलिजेन्समा आधारित अनुसन्धान प्रणाली विकास गरिने र राजस्व परिचालनसँग सम्वद्ध निकायहरूबीच सूचना आदान प्रदान तथा संयुक्त अनुगमनलाई प्रभावकारी बनाईने बताए।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...