सुदरपश्चिमका १६ स्थानमा वर्षा तथा बाढी मापन गर्ने ‘गेज स्टेसन’ जडान

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

सुदरपश्चिमका १६ स्थानमा वर्षा तथा बाढी मापन गर्ने ‘गेज स्टेसन’ जडान
Depth marker - flood gauge by partly flooded road - scale in feet (Palo Duro Canyon, Texas)

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशमा १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने गेज स्टेसन जडान भइसकेको जानकारी दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले मङ्गलबार पहिलो पटक सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय मनसुन फोरममा बोल्दै उनले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूलाई प्रभावकारी बनाउन आवश्यक सामग्री उपलब्ध गराउँदै आएको र विपत् सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले निरन्तर काम गरिरहेको बताए।

सो कार्यक्रममा यो वर्षको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, सम्भावित जोखिमको आकलन र विपत् पूर्वतयारीका विषयमा गहन छलफल गरिएको छ। कार्यक्रममा यस वर्ष मनसुन औसतभन्दा अगाडि प्रवेश गर्ने र वर्षा पनि औसतभन्दा बढी हुने सम्भावना रहेकाले तत्काल पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता रहेको मौसम विज्ञ डा. धर्मराज उप्रेतीको प्राविधिक प्रस्तुतिमा उल्लेख गरेका छन्।

विभागका प्रतिनिधि विभूति पोखरेलले फोरममा समग्र सहजीकरण गर्दै सुदूरपश्चिममा मौसम पूर्वानुमान प्रणालीलाई अझ सुदृढ बनाउने पहलबारे जानकारी दिएका थिए।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् सम्पर्क व्यक्ति दीपेन्द्र विष्टले सुदूरपश्चिमको समग्र जोखिम परिदृश्य, नीतिगत संरचना र हाल सञ्चालनमा रहेका पूर्वतयारी गतिविधि प्रस्तुत गरेका थिए।

साथै विभिन्न सय संस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रका तयारी र समन्वयका प्रयास प्रस्तुत गरेका थिए। खुला छलफल सत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारो गोगनबहादुर हमालले बाढीपहिरोको जोखिम उच्च रहेकाले सम्बन्धित निकायबिच तालमेल र सहकार्य अत्यावश्यक रहेकोमा जोड दिए।

फोरमले सुदूरपश्चिम प्रदेशमा मौसम पूर्वानुमान र जोखिम मूल्याङकनलाई आधारित बनाएर रणनीतिक पूर्वतयारी र नीति निर्माणमा सघाउ पुयाउने स्पष्ट दिशा तय गरेको छ।

यसले सरकार, स्थानीय तह सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबिचको सहकार्यलाई थप मजबुत बनाउँदै विपत् जोखिम न्यूनीकरणमा प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले बताए।

मर्सिकोर नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय मनसुन फोरम-२०८२ धनगढीमा भएको हो। कार्यक्रम जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीको अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा कानुन मन्त्रालयका सचिव बीरेन्द्रकुमार मिश्रलगायतको उपस्थिति रहेको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया