यसरी पत्ता लागे अमेरिकामा दशकौं पहिले हराएका पनडुब्बी र सैन्य विमान

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

अनुसन्धानकर्ताहरूले अमेरिकाको सान डिएगोबाट केही माइल टाढा समुद्रको सतहमा दुईवटा पुराना हराएका सैन्य सवारी साधनको भग्नावशेष फेला पारेका छन्।

तीमध्ये एउटा अमेरिकी पनडुब्बी हो, जुन सन् १९१७ मा तालिमका क्रममा डुबेको थियो, र अर्को अमेरिकी नौसेनाको तालिम विमान हो, जुन सन् १९५० मा नजिकै दुर्घटनाग्रस्त भएको थियो।

यूएसएस एफ-१ नामक पनडुब्बी अर्को अमेरिकी पनडुब्बीसँग ठोक्किएर गम्भीर रूपमा क्षति भएपछि केही सेकेन्डमै डुबेको थियो। यो घटनामा १९ जना चालकदलको मृत्यु भएको थियो, भने तीन जनालाई अर्को पनडुब्बीले उद्धार गरेको थियो।

लाइभसाइन्सका अनुसार यो पनडुब्बीको भग्नावशेष सन् २०२४ को सुरुमा वुड्स होल ओसनोग्राफिक इन्स्टिच्युसन डब्लूएचओआई र अमेरिकी नौसेनाका अनुसन्धानकर्ताहरूले गरेको एक अभियानमा पहिलोपटक पत्ता लगाइएको हो। पनडुब्बी अहिले समुद्रको सतहभन्दा १,३०० फिट (४०० मिटर) गहिराइमा अवस्थित छ।

यो गहिराइ मानव गोताखोरका लागि असम्भव भएकाले यसको सर्वेक्षण डब्लूएचओआई को अनुसन्धान जहाज अटलान्टिसमा आधारित ह्यूमन-अक्युपाइड अन्डरवाटर भेइकल (एचओभी) ‘अल्भिन’ र अटोनोमस अन्डरवाटर भेइकल (एयूभी) ‘सेन्ट्री’ द्वारा गरिएको हो।

“यी दुई महत्वपूर्ण समुद्री उपकरणहरू एकसाथ अत्यन्त राम्रोसँग काम गर्छन्,” डब्लूएचओआईमा अल्भिन समूहका प्रबन्धक ब्रुस स्ट्रिकरटले भने। “यी दुई प्रविधिको संयोजनले गहिरो समुद्री अनुसन्धान र अन्वेषणलाई रूपान्तरण गरेको छ र अब यो अल्भिनका वैज्ञानिक मिशनहरूको नियमित भाग बन्दै गएको छ।”

“यूएसएस एफ-१ ले सान पेड्रो र सेन डिएगो, क्यालिफोर्निया बीच ४८ घण्टे इन्जिनियरिङ परीक्षण गरिरहेको बेला दुर्घटना भएको हो,” क्रुगरले बताए। “[नौसेनाका पनडुब्बीहरू] यूएसएस एफ-२ र यूएसएस एफ-३ पनि त्यही समयमा परीक्षणमा थिए, जब तीनैवटा पनडुब्बी कुहिरोको थुप्रोमा पसे। त्यसपछि एफ-३ एफ-१ सँग ठोक्कियो, र दुर्घटनापछि एफ-३ घटनास्थलमा रही पानीमा रहेका बाँचेकाहरूको उद्धार गर्न सहयोग गर्‍यो।”

स्ट्रिकरटले नौसेनाका अभिलेखबाट पनडुब्बीको अनुमानित स्थान पत्ता लगाएको र त्यस क्षेत्रमा एयूभी सेन्ट्री पठाइएको बताए। खोजीको पहिलो दिनमै भग्नावशेष फेला परेको थियो।

एफ-१ पनडुब्बी अहिले आफ्नो दायाँपट्टि पल्टिएको अवस्थामा उत्तरपश्चिमतर्फको अगाडिको भागसहित रहेको छ। स्ट्रिकरटका अनुसार अल्भिनबाट गरिएको थप अन्वेषणमा १०० वर्षभन्दा बढी समय पानीमुनि रहे पनि पनडुब्बी “अत्यन्तै राम्रो अवस्थामा” रहेको पाइएको हो।

यो भग्नावशेष अब १९ जना चालकदलको अन्तिम विश्रामस्थल बनेको छ। डब्लूएचओआई र नौसेनाले यसको अवस्था जस्ताको तस्तै राख्न र यसको ऐतिहासिक मूल्यको सम्मान गर्न भग्नावशेषलाई नछुने सहमति गरेका छन्।

तालिम विमान

अभियानका क्रममा नजिकै रहेको अमेरिकी नौसेनाको ग्रुम्मन टीबीएफ अवेन्जर टार्पेडो बमवर्षक विमानको भग्नावशेष पनि सर्वेक्षण गरिएको थियो। यो विमान सन् १९५० मा तालिमका क्रममा सोही क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

स्ट्रिकरटले बताएअनुसार यो विमानको भग्नावशेष डब्लूएचओआई लाई केही वर्षदेखि थाहा थियो र कहिलेकाहीँ अल्भिनमार्फत इन्जिनियरिङ र तालिम डाइभको अभ्यासका लागि प्रयोग पनि गरिन्थ्यो। तर यसको सही स्थान नौसेनालाई थाहा थिएन, त्यसैले नौसेनाको अभिलेख अद्यावधिक गर्न यसको सर्वेक्षण गरिएको हो।

यी डाइभहरूबाट नौसेनाको इतिहास तथा सम्पदाको जिम्मेवारी लिने निकाय (एनएचएचसी) ले विमानको औपचारिक पहिचान गर्न सकेको र यस दुर्घटनाबाट चालक दल सुरक्षित रूपमा बाँच्न सफल भएको पुष्टि गर्न सकिएको स्ट्रिकरटले बताए।

उनले थपे, विमानमा लेखिएको “१३” नम्बरबारे आफू सधैं जिज्ञासु रहेको बताए — जुन “अपशकुन मानिने संकेत” हो। पछि थाहा भयो कि यो नम्बर विमानको तालिम स्क्वाड्रनलाई जनाउने संकेत हो, “तर मलाई कहिलेकाहीँ लाग्छ, उडान चालक र स्क्वाड्रनका सदस्यहरूले त्यसबेला के सोचेका थिए होला,” उनले भने।

 

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया