एप्पलको स्मार्ट होम हब यस वर्षको अन्त्यसम्ममा सार्वजनिक हुन सक्ने

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

एप्पलको लामो समयदेखि प्रतीक्षित स्मार्ट होम हब यस वर्षको अन्त्यसम्मै सार्वजनिक हुन सक्ने ब्लूमबर्गका मार्क गर्मनको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ।

एप्पलको स्मार्ट होम हबबारेका हल्ला सन् २०२२ मा यो उत्पादनलाई कम्पनीले स्वीकृति दिएको बताइए पछि नै सुरु भएका थिए। तर यसको विकास यात्रा सहज भने रहन सकेन, किनभने यो उत्पादन धेरै हदसम्म एप्पल इन्टेलिजेन्समा निर्भर हुने अपेक्षा गरिएको थियो।

गर्मनले यसअघि मार्चमा दिएको रिपोर्टमा सिरी अपग्रेडमा समस्या देखिएपछि एप्पल ले स्मार्ट होम हबको घोषणा ढिलो गरेको बताएका थिए।

इन्ग्याजेटका अनुसार गर्मनले अहिले आफ्नो अनुमानित समयतालिका परिमार्जन गर्दै स्मार्ट होम हबको एक सस्तो भर्सन “यो वर्षको अन्त्यसम्म” सार्वजनिक हुने दावी गरेका छन्।

साथै, उनले त्यो सस्तो मोडेल सार्वजनिक भएपछि एक वा दुई वर्षभित्र रोबोटिक आर्मको सहायताले प्रयोगकर्ताको डेस्कमा सार्न सकिने क्षमतायुकत एउटा उन्नत संस्करण ल्याउने एप्पलको “प्रमुख प्राथमिकता” मा परेको पनि खुलासा गरेका छन्।

यो निर्धारित समयसीमामा उत्पादन ल्याउन एप्पलले रोबोटिक आर्म भर्सनमा समावेश गरिने भनिएका केही “साहसी फिचरहरू” पछिल्लो संस्करणहरूमा सार्ने निर्णय गरेको गर्मनले बताएका छन्।

एप्पलले आफ्नो स्मार्ट होम हबबारे आधिकारिक रूपमा खासै जानकारी दिएको छैन, तर हल्लाहरूअनुसार यो डिजाइन होमपड र आइप्याड दुवैबाट प्रेरित देखिन्छ। यसमा सात इन्चको डिस्प्ले, ” होमओएस” नामको नयाँ अपरेटिङ सिस्टम र आईफोनको स्ट्याण्डबाई मोडजस्तै देखिने ड्यासबोर्ड हुने बताइएको छ।

एप्पलको यो उत्पादनले अमेजनको इको श्रृंखला र गुगलको नेस्ट हबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। तर हल्लाहरू अनुसार रोबोटिक आर्म संस्करणको सुरुआती मूल्य करिब १ हजार डलर हुन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया