अमेरिकी संघीय सरकारमा डाटा विश्लेषण गर्न ग्रोकको प्रयोग हुँदै, संवेदनशील जानकारी जोखिममा पर्नसक्ने चिन्ता

  • Technology Khabar | १२ जेष्ठ २०८२, सोमबार
अमेरिकी संघीय सरकारमा डाटा विश्लेषण गर्न ग्रोकको प्रयोग हुँदै, संवेदनशील जानकारी जोखिममा पर्नसक्ने चिन्ता

काठमाडौं ।

अमेरिकी संघीय सरकारमा डाटा विश्लेषण गर्न ईलन मस्कको कृत्रिम बुद्धिमत्ता च्याटबोट ग्रोक को प्रयोग विस्तार भइरहेको बताइएको छ। यस्तो प्रयोगले स्वार्थको द्वन्द्व कानूनको उल्लंघन गर्न सक्ने सम्भावना रहेको र करोडौं अमेरिकीको संवेदनशील जानकारी जोखिममा पार्न सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।

गोपनीयताको पक्षमा आवाज उठाउँदै आएका व्यक्तिहरू र अरूले विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय ब्यूरोक्रेसीमा ठूलो परिवर्तन ल्याइरहेका बेला यसको प्रयोगले दीर्घकालदेखि लागू हुँदै आएको संवेदनशील डाटा संरक्षण प्रणालीलाई बेवास्ता गरिएको देखिएको बताएका छन्।

रोयटर्सका अनुसार तीमध्ये एक व्यक्तिले मस्कको डीओजीई टोलीले ग्रोक को अनुकूलित संस्करण प्रयोग गरिरहेको बताएका छन्। उक्त स्रोतका अनुसार डीओजीई टोलीको उद्देश्य डाटा छिटो विश्लेषण गर्नु हो। “उनीहरूले प्रश्न गर्छन्, रिपोर्ट तयार गर्न लगाउँछन्, डाटा विश्लेषण गराउँछन्,” ती व्यक्तिले भने।

अन्य व्यक्तिका अनुसार डीओजीई टोलीका सदस्यहरूले यो उपकरण विभागभित्र स्वीकृत नभए पनि गृह सुरक्षा अर्थात् डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का कर्मचारीहरूलाई ग्रोक प्रयोग गर्न भनेका थिए।

कुन डाटा जेनेरेटिभ एआई टुलमा प्रयोग गरिएको थियो वा यो प्रणाली कसरी सेटअप गरिएको थियो भन्ने पत्ता लगाउन नसकिएको रोयटर्सले उल्लेख गरेको छ। ग्रोक मस्कले २०२३ मा आफ्नै सामाजिक सञ्जाल एक्समा सुरु गरेको प्रविधि कम्पनी एक्सएआईले विकास गरेको हो।

यदि प्रयोग गरिएको डाटा संवेदनशील वा गोप्य सरकारी सूचना हो भने, यस्तो प्रयोगले सुरक्षा र गोपनीयतासम्बन्धी कानून उल्लंघन गर्न सक्छ भन्ने प्रविधि र सरकारी आचरणका पाँच विज्ञहरूले बताएका छन्।

उनीहरूले मस्कलाई संघीय एजेन्सीसँग निजी रूपमा कारोबार गर्ने टेस्ला र स्पेसएक्सजस्ता कम्पनीलाई गोप्य सरकारी ठेक्कासम्बन्धी जानकारीसम्म पहुँच दिन सक्ने वा ग्रोक को प्रशिक्षणमा त्यो डाटा प्रयोग हुन सक्ने बताएका छन्। यस्तो अवस्थामा मस्कले अन्य एआई सेवा प्रदायकहरूमाथि अनुचित लाभ लिन सक्ने खतरा रहेको पनि विज्ञहरूको भनाइ छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...