एनभिडियाले चीनका लागि नयाँ एआई चिप बनाउँदै, एच२० भन्दा सस्तोमा बिक्री हुने

Technology Khabar ११ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

एनभिडियाले चीनका लागि नयाँ कृत्रिम बुद्धिमत्ता चिपसेट ल्याउने तयारी गरेको छ, जुन हाल प्रतिबन्धित भएको एच२० मोडेलभन्दा निकै सस्तो हुने स्रोतहरूले बताएका छन्। नयाँ जीपीयूको उत्पादन जुन महिनाबाटै सुरु हुने योजना छ।

यो जीपीयू एनभिडिया को नयाँ ब्ल्याकवेलआर्किटेक्चरमा आधारित हुनेछ र यसको मूल्य करिब ६,५०० देखि ८,००० डलरको बीचमा पर्नेछ, जुन एच२० मोडेलको १०,००० देखि १२,००० डलर मूल्यभन्दा धेरै सस्तो रहेको रोयटर्सले उल्लेख गरेको छ।

सस्तो मूल्य यसको कम क्षमता र सरल उत्पादन प्रक्रियाका कारण भएको बताइएको छ। चिप RTX Pro 6000D मा आधारित हुनेछ, जुन सर्भर-स्तरको जीपीयू हो, र यसले अत्याधुनिक उच्च ब्याण्डविथ मेमोरीको सट्टा सामान्य जीडीडीआर७ मेमोरी प्रयोग गर्नेछ।

स्रोतहरूका अनुसार चिपमा टीएसएमसीको सीओडब्लूओएस प्रविधि प्रयोग गरिने छैन। नयाँ चिपको मूल्य, विशिष्टता र उत्पादन समयबारे यसअघि सार्वजनिक गरिएको थिएन।

एनभिडियाका प्रवक्ताले भने कम्पनी अझै पनि आफ्ना “सीमित” विकल्पहरू मूल्याङ्कन गरिरहेको बताएका छन्। “हामीले नयाँ डिजाइन तय नगरेसम्म र अमेरिकी सरकारबाट स्वीकृति नपाएसम्म, चीनको ५० अर्ब डलर बराबरको डाटा सेन्टर बजारबाट हामी लगभग बाहिर छौं,” प्रवक्ताले भने।

टीएसएमसीले यसबारे कुनै टिप्पणी गरेन।

बजार हिस्सामा गिरावट

चीन अझै पनि एनभिडियाको लागि ठूलो बजार हो, जसले गएको आर्थिक वर्षमा कम्पनीको कुल बिक्रीको १३ प्रतिशत हिस्सा ओगटेको थियो। अमेरिकी प्रतिबन्धका कारण चीनका लागि जीपीयू परिमार्जन गर्न बाध्य भएको यो तेस्रो पटक हो।

अप्रिलमा एच२० प्रभावकारी रूपमा प्रतिबन्धित भएपछि, एनभिडिया ले त्यसको डाउनग्रेड संस्करण बनाउने योजना बनाएको थियो, तर त्यो योजना सफल भएन।

एनभिडिया का सीईओ जेन्सेन हुआङले गत हप्ता एच२० मा प्रयोग भएको कम्पनीको पुरानो हपर आर्किटेक्चरमा अब अमेरिकी निर्यात प्रतिबन्ध अन्तर्गत थप परिमार्जन गर्न सकिने अवस्था नरहेको बताएका थिए।

प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया