लुम्मा पासवर्ड स्टिलर मालवेयर विश्वभर ४ लाख हाराहारी विण्डोज कम्प्युटरमा फेला पर्यो

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
लुम्मा पासवर्ड स्टिलर मालवेयर विश्वभर ४ लाख हाराहारी विण्डोज कम्प्युटरमा फेला पर्यो

काठमाडौं ।

लुम्मा पासवर्ड स्टिलर मालवेयर विश्वभर ३,९४,००० भन्दा बढी विण्डोज कम्प्युटरमा फेला परेको माइक्रोसफ्टले जनाएको छ।

माइक्रोसफ्ट र कानुनी निकायहरूले संयुक्त रूपमा लुम्मा नामको सूचनाचोरी गर्ने मालवेयर अपरेशनको अदालती अनुमतिसहित नियन्त्रण लिएको घोषणा गरेका छन्। यो मालवेयर मुख्यतः ब्राजिल, युरोप र अमेरिका भरि फैलिएको पाइएको टेकक्रञ्चले उल्लेख गरेको छ।

माइक्रोसफ्टले २,३०० डोमेन कब्जा गर्न अमेरिकी संघीय अदालतमा निवेदन दिएको थियो, जुन डोमेनहरू मालवेयरको कमाण्ड एन्ड कन्ट्रोल सर्भरको रूपमा प्रयोग भएका थिए। न्याय विभागले लुम्मा मालवेयर सञ्चालन गर्न प्रयोग भएका थप पाँच डोमेन पनि नियन्त्रणमा लिएको छ।

लुम्मा पासवर्ड स्टिलर मालवेयर इन्टरनेटबाट डाउनलोड गरिएका ह्याकर खेल वा क्र्याक गरिएको एपहरूमा फेला पर्न सक्छ। एकपटक संक्रमित भएपछि, यो मालवेयर पीडितको कम्प्युटरबाट लगइन, पासवर्ड, क्रेडिट कार्ड विवरण र क्रिप्टोकरेन्सी वालेट जस्ता जानकारी चोर्छ, जुन जानकारीहरू अन्य साइबर अपराधीहरूलाई बेचिन्छन्। लुम्माले अन्य मालवेयर जस्तै र्यान्समवेयर हाल्न चाहने ह्याकरहरूका लागि ब्याकडोरको काम पनि गर्छ।

लुम्मा जस्ता पासवर्ड चोर्ने मालवेयरहरू पावरस्कुल र स्नोफ्लेक जस्ता प्रविधि कम्पनीहरूबाट ठूलो मात्रामा डेटा चोर्ने साइबर आक्रमणहरूसँग जोडिएका छन्।

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...