ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

Technology Khabar ९ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१’ मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन्।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई नेपाल) र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रतिनिधिमण्डलले शुक्रबार संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई सुझावसहितको दस्तावेज बुझाएका हुन्।

यी संस्थाहरूले ब्लुप्रिन्टलाई डिजिटल नेपाल निर्माणको दिशामा ठोस पहलको रूपमा औँल्याउँदै सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा २०८० वैशाख १७ गते बसेको ई-गभर्नेन्स आयोगको पहिलो बैठकपछि सुरु भएको परामर्श र विश्लेषणपछि तयार पारिएको यस मस्यौदामा मन्त्रालय, स्वायत्त निकाय, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो।

क्यान महासंघका कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल बाइ डिफल्ट’ नीति, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन र ‘एक नागरिक– एक ड्यासबोर्ड’ अवधारणाले समावेशी डिजिटल भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरताको प्रवर्द्धन र एआई तथा ब्लकचेनजस्ता प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वयमा सरकारी सेवाको प्रभावकारिता र सहभागिता बढाउन ब्लुप्रिन्टले सहयोग गर्ने बताए। उनले डाटा एक्सचेन्ज प्लेटफर्म मजबुत पार्दै अवधारणागत नक्कल न्यूनीकरण र स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे।

इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCert) का अध्यक्ष डा. राजीव सुब्बाले डेटा सुरक्षालाई प्राथमिकता दिँदै बलियो साइबर सुरक्षा मापदण्ड, प्रभावकारी डाटा संरक्षण नीति र सुरक्षित क्रस-बोर्डर डाटा स्थानान्तरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

इन्साइट टेक्नोलोजीका प्रमुख कार्यकारी सुमन शर्माले ब्लुप्रिन्टलाई डिजिटल नेपालको सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण दस्तावेज भन्दै डिजिटल पूर्वाधार सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखे।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले डिजिटल नेपालको परिकल्पना साकार पार्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरे।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरूलाई समावेश गरिने बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ मा ७ रणनीतिक स्तम्भ, डिजिटल पूर्वाधार सुदृढीकरण, नागरिक केन्द्रित सेवा, मानव स्रोत विकास, नवप्रवर्तन, कानूनी अद्यावधिक, समन्वय र मूल्याङ्कनलगायतका पक्ष समेटिएका छन्।

ब्लुप्रिन्टले साझा राष्ट्रिय क्लाउड, ग्रामिण इन्टरनेट विस्तार, डिजिटल ड्यासबोर्ड, नागरिक एप, रियल-टाइम प्रतिक्रिया संयन्त्र, हरित सूचना प्रविधि र स्थानीय भाषामा सेवाको प्रयोगसमेत समेटेको छ।

रूपरेखाका मुख्य विशेषता:

  • ७ रणनीतिक स्तम्भ: गभर्नेन्स संरचना, कानुनी सुधार, सीप अभिवृद्धि, प्रविधिमा मापदण्ड, कार्यान्वयन अनुगमन, नवप्रवर्तन, र अन्तर्राष्ट्रिय सहकार्य।
  • डिजिटल पूर्वाधार सुदृढीकरण: सबै सरकारी सेवा ‘डिजिटल डिफल्ट’ प्रणालीमा रूपान्तरण, साझा राष्ट्रिय क्लाउड, र ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार।
  • नागरिक केन्द्रित सेवा प्रवाह: एक नागरिक – एक ड्यासबोर्ड, नागरिक एपको व्यापक प्रयोग, डिजिटल सुझाव पेटिका, र रियल-टाइम प्रतिक्रिया संयन्त्रको विकास।
  • मानव स्रोत र क्षमता विकास: सातै प्रदेशमा डिजिटल साक्षरता अभियान, निजामती सेवामा आईसीटी तालिम, र विश्वविद्यालय तहमा ई-गभर्नेन्स पाठ्यक्रमको समावेशीकरण।
  • निजी क्षेत्र र नवप्रवर्तन: स्टार्टअपमैत्री खरिद नीतिहरू, सार्वजनिक-निजी साझेदारी, र एपीआई (API) प्रणाली खोल्ने पहल।
  • समन्वय र मूल्याङ्कन: सबै मन्त्रालयमा सूचना प्रविधि शाखा स्थापना, अनलाइन ड्यासबोर्डमार्फत कार्यसम्पादन निगरानी, र एकीकृत फिडब्याक प्रणाली।

थप विशेष पहलहरू:

  • कानुनी संरचना अद्यावधिक (जस्तै, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट २०६३ सुधार)
  • हरित सूचना प्रविधि (Green IT) र शून्य-कागज सेवा अभियान
  • समावेशी सेवाका लागि स्थानीय भाषाहरू (नेपाल भाष, मैथिली, गुरुङ, मगर आदि) को प्रयोग
  • फाइभजी, ब्लकचेन, तथा एआई (Artificial Intelligence) नीतिसँग समन्वय

प्रकाशित: ९ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया