नासाको एक्स-५९ सुपरसोनिक जेटले भुईँ नछोडी ‘उडान’ भर्‍यो, तर कसरी?

  • Technology Khabar | ९ जेष्ठ २०८२, शुक्रबार
नासाको एक्स-५९ सुपरसोनिक जेटले भुईँ नछोडी ‘उडान’ भर्‍यो, तर कसरी?

काठमाडौं ।

नासाको लो बूम फ्लाइट डेमन्स्ट्रेटर परियोजनाका लागि लकहीड मार्टिन स्कङ्क वर्क्सले विकास गरेको एक्स-५९ एउटा सुपरसोनिक अनुसन्धान विमान हो। लामो र साँघुरो बनावट र कनार्ड प्रविधिको प्रयोगमार्फत यो विमानले ध्वनि गतिको सीमा पार गर्दा उत्पन्न हुने सोनिक बूमको आवाजलाई जमिनसम्म पुग्न नदिने गरी न्यून गर्न सक्छ।

एक्स-५९ को ककपिट, इजेक्सन सिट र क्यानोपी टी-३८ “फाल्कन” प्रशिक्षण विमानबाट लिइएको हो भने ल्यान्डिङ गियर एफ-१६ “फाल्कन” लडाकु विमानबाट लिइएको हो। यो अनुसन्धान विमान (एक्स-प्लेन) १०० फिट (३०.४ मिटर) लामो छ र यसको विंगस्प्यान अर्थात् पँखेटाको फैलावट २९.५ फिट (९ मिटर) छ।

जनरल इलेक्ट्रिकको एफ-४१४ इञ्जिनबाट सञ्चालित एक्स-५९ ले अधिकतम माक १.५ (९९० माइल प्रति घण्टा वा १५९० किमी/घण्टा) सम्मको गति हासिल गर्न सक्ने अनुमान गरिएको छ।

यो विमानले ५५,००० फिट (१६,८०० मिटर) उचाइमा माक १.४२ (९४० माइल प्रति घण्टा वा १५१० किमी/घण्टा) मा क्रुज गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

एक्स-५९ ले परीक्षणका क्रममा आफू आकाशमा रहेको ठानेको थियो तर वास्तवमा यो क्यालिफोर्नियाको पामडेलमा रहेको लकहीड मार्टिन स्कङ्क वर्क्सको सुविधा केन्द्रमै पार्क गरिएको थियो।

यो किन विशेष छ?

“यी परीक्षणहरूको उद्देश्य विमानका सब-सिस्टम र फ्लाइट कम्प्युटरलाई यस्ता तरिकाले निर्देशन दिने हो कि तिनीहरुले आफैँलाई आकाशमा उडिरहेको ठानून,” नासाको आर्मस्ट्रङ फ्लाइट रिसर्च सेन्टर क्यालिफोर्नियाका एक्स-५९ का प्रमुख एभियोनिक्स इन्जिनियर योहान लिनले नासालाई दिएको अन्तर्वार्तामा भने।

स्पेस डटकमका अनुसार परीक्षणका क्रममा अधिकांश सिस्टमहरू सञ्चालित गरिए तापनि इञ्जिन भने बन्द राखिएको थियो। विमानको फ्लाइट कम्प्युटरले उचाइ, गति, तापमान तथा प्रणालीहरूको स्वास्थ्यमा परिवर्तन भएको जस्तो गराइएपछि आफ्नो नियन्त्रण सतहहरू चलायो।

“यी सामान्य गतिविधिहरू थिए, केही विशेष गाह्रो थिएन,” लिनले भने। “हामीले प्रणालीमा समस्या हालेर त्यसको प्रतिक्रिया हेर्‍यौं। प्रणालीले त्यसको समाधान गर्थ्यो कि? पाइलटले नियन्त्रण फिर्ता लिन सक्थ्यो कि?”

यस प्रक्रियालाई अतीतमा ‘आइरन बर्ड’ परीक्षण भनिन्थ्यो, जहाँ विमानका सब-सिस्टमहरू एक धातुको संरचनामा जडान गरेर परीक्षण गरिन्थ्यो। एक्स-५९ एक मात्र नमुना भएकाले, अधिकारीहरूले प्रतिनिधि संरचना बनाउनुको सट्टा सिधै विमानलाई नै प्रयोग गर्नु सस्तो र उपयुक्त ठाने।

यस कारणले परीक्षण प्रक्रियालाई ‘एलुमिनियम बर्ड’ परीक्षण भनिएको हो, किनकि एक्स-५९ को मुख्य धातु एलुमिनियम नै हो।

प्रकाशित: ९ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...