पूर्वसूचना प्रणालीका माध्यमबाट जोखिम न्यूनीकरण

Technology Khabar ७ जेष्ठ २०८२, बुधबार

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् जोखिम न्यूनीकरणका लागि विपत् पूर्वसूचना प्रणाली आवश्यक हुने बताएका छन्। उनले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै विपत् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सहयोगी हुने बताएका हुन्।

यहाँ आयोजित सबैका लागि पूर्वसूचना विषयमा राष्ट्रिय कार्ययोजना २०८२ तर्जुमाका सम्बन्धमा आयोजित उक्त गोष्ठीमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, “बदलिँदो परिवेश र प्रविधि अनुसार सहज पहुँच हुने किसिमको प्रविधिको प्रयोगबाट विपतुजन्य जोखिम न्यूनीकरण गर्न सकिन्छ।”

गण्डकी प्रदेशसहित नेपाल विपत् जोखिमयुक्त क्षेत्र भएको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश हिमाली, पहाडी र तराई भूभाग भएकाले भूगोल अनुसारको सूचना प्रणाली हुनुपर्ने र सोही अनुरूप सचेत गराउनुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका कारण पनि हामीले थप विपत्को सामना गर्नु परेको बताउँदै उनले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरी पूर्वसूचना र विपतपछिको भूमिकाका सन्दर्भमा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गरे।

गण्डकी प्रदेश विपत्को उच्च जोखिममा पनि रहेकाले स्थानीय नागरिकसँगै पर्यटकलक्षित विपत् पूर्वसूचना प्रणाली प्रयोग गर्दा कुनै पनि क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

त्यसै गरी नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपतपछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गण्डकी प्रदेश सभाका प्रमुख सचेतक बिन्दु पौडेलले सूचनाको पहुँच जनतामा पुयाउन सके विपत्मा मात्र नभई अन्य समयमा पनि प्रभावकारी बन्ने बताए।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले विपत् पूर्वसूचनाका आधारमा विपतजन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताए। प्रभावकारी पूर्वसूचना प्रणाली
स्थापनासँगै यसबारे आमसर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनु जरुरी भएको उनको भनाइ थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रभावकारी पूर्वसूचना प्रणाली स्थापनासँगै यसबारे आमसर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनु जरुरी भएको बताउँदै स्थानीय तहसम्म मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसशीय विकास कार्यक्रम गण्डकी र लुम्बिनीका संयोजक सुदीप अर्यालले विपत् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सके ३० प्रतिशत क्षति कम गर्न सकिने बताए।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव इ. अर्जुनकुमार बमले कतिपय विपत् मानवीय भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण अधिकांश विपत्का घटना हुने गरेको उल्लेख गर्नुभयो ।

त्यसै गरी दैनिक रूपमा वर्षा हुन थालेपछि जिल्ला विपत् व्यवस्थापन समिति कास्कीको बसेको बैठकले सम्बन्धित निकायहरूलाई सतर्क गराएको छ।

बैठकमा बर्सात्को समयमा हुन आउने बाढीपहिरोदेखि अन्य बिपत्लाई तत्काल उद्धार गर्न राज्यका सबै संयन्त्र तैनाथ रहन समितिले निर्णय गरेको सो समितिका अध्यक्ष एवं कास्कीका प्रमुख जिल्ला अधिकारी  पाण्डेले जानकारी दिए।

बैठकले कास्की जिल्लाभर रहेका सम्बन्धित सरकारी कार्यालयलाई आफ्ना सवारीसाधन मर्मतसम्भार गरी चुस्त राख्ने, जिल्ला बिपत् व्यवस्थापनबाट माग भएमा तत्काल उपलब्ध गराउने मनसुनजन्य विपत्को समयमा तत्काल प्रयोग गर्न मिल्ने गरी प्रत्येक स्थानीय तहले बाटो मर्मत गर्न प्रयोगमा आउने ग्राभेलको निश्चित परिमाण सुरक्षित भण्डारण गर्नेलगायतका निर्णय गरेको छ।

जिल्लास्थित निकाय तथा कार्यालयसँग रहेका विपत् खोज तथा उद्धारका लागि स्थानीय तह, सडक डिभिजन र हेभी इक्विपमेन्ट डिभिजनसँग रहेका मेसिनरी औजारहरू चुस्त दुरुस्त अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।-रासस

प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया