Technology Khabar ७ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
अर्बपति ईलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीको उपग्रह इन्टरनेट सेवा स्टारलिंकले मंगलबारदेखि बंगलादेशमा सेवा सुरु गरेको छ। दक्षिण एशियाली राष्ट्र बंगलादेशले भरपर्दो र अविच्छिन्न इन्टरनेट पहुँच सुनिश्चित गर्न प्रयासहरू तीव्र पारेसँगै यो सेवा सुरु गरिएको हो।
प्रधानमन्त्री शेख हसिना गत वर्ष व्यापक विरोध प्रदर्शनपछि बंगलादेश छोडेपछि कार्यवाहक सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले यो सेवा कुनै पनि भावी राजनीतिक अस्थिरताबाट प्रभावित नहुने दावी गरेका छन्।
“स्टारलिंकको उच्च गतिको, न्यून विलम्ब भएको इन्टरनेट अब बंगलादेशमा उपलब्ध छ,” कम्पनीले एक्स (पूर्व ट्विटर) मा पोस्ट गरेको छ।
स्टारलिंकको सेवा हाल देशभर उपलब्ध रहेको र यसको मासिक शुल्क ४,२०० टका (अन्दाजी ३५ अमेरिकी डलर) बाट सुरु हुने युनुसका सहयोगी फैज अहमद तैयबले जानकारी दिएका छन्। सेवा सुरु गर्न आवश्यक उपकरणका लागि ४७,००० टका एकपटक तिर्नुपर्ने रोयटर्सले उल्लेख गरेको छ।
“यसले प्रिमियम प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरको र उच्च गतिको इन्टरनेट सेवाका लागि दिगो विकल्प सिर्जना गरेको छ,” उनले फेसबुक पोस्टमार्फत् भनेका छन्।
नोबेल शान्ति पुरस्कार विजेता युनुसले सन् २०२४ को अगस्टमा कार्यवाहक सरकारको नेतृत्व सम्हालेका थिए। त्यसअघि सन् २०२४ को जुलाईमा देशव्यापी आन्दोलन फैलिएपछि अधिकारीहरूले इन्टरनेट र सन्देश सेवा स्थगित गरेका थिए।
स्टारलिंकले हालसम्म ७० भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ र भारतजस्ता उदाउँदा बजारहरूमा अझ तीव्र वृद्धि गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: ७ जेष्ठ २०८२, बुधबार