Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
गुगलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलन ‘गुगल आई/ओ २०२५’ मे २० तारिखमा गर्ने तयारी गरेको छ। दुई दिने कार्यक्रम क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको शोरलाइन एम्फीथिएटरमा हुनेछ र कम्पनीको पछिल्लो सफ्टवेयर आविष्कारहरूमा केन्द्रित हुनेछ।
उद्घाटन भाषण मे २० तारिखमा बिहान १० बजे प्यासिफिक टाइम (पीटी), अर्थात नेपाली समयअनुसार आज राति १०ः४५ बजे सुरु हुनेछ। दर्शकहरूले गुगलको आधिकारिक आई/ओ वेबसाइट वा युट्युब च्यानलमा लाइभस्ट्रिम हेर्न सक्नेछन्। मुख्य भाषण लगभग दुई घण्टासम्म चल्ने अपेक्षा गरिएको छ।
यस वर्षको कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) मा धेरै केन्द्रित हुनेछ, जसले गुगलको क्षेत्रमा हालैका प्रगतिहरूलाई प्रतिबिम्बित गर्दछ। सीईओ सुन्दर पिचाईले गुगलको प्लेटफर्महरूमा अपडेटहरू हाइलाइट गर्दै मुख्य भाषण दिनेछन्।
निर्धारित डेभलपर मुख्य भाषणले नयाँ टूलहरू र एपीआईहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ।
के आशा गर्ने?
गुगलले हालैको “एन्ड्रोइड शोः आई/ओ एडिसन” को दौरानमा एन्ड्रोइड १६ विवरणहरू साझा गरिसकेको छ। उक्त प्रस्तुतिमा पुनः डिजाइन गरिएको मटेरियल ३ एक्सप्रेसिभ इन्टरफेस, बलियो गोपनीयता सुरक्षा, पर्फर्मेन्स सुधार र जेमिनी एआई इन्टिग्रेसन प्रस्तुत गरिएको थियो।
यस प्रारम्भिक एन्ड्रोइड पूर्वावलोकनको कारणले गर्दा, मुख्य आई/ओ कीनोटले जेमिनी, एन्ड्रोइड एक्सआर, प्रोजेक्ट एस्ट्रा, र डीपमाइण्डको अपडेटहरू सहित अन्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
कीनोटको समयमा एआई केन्द्रबिन्दुमा रहने छ। गुगलले यसको पछिल्लो २।५ प्रो मोडेल सहित जेमिनीमा भएका सुधारहरूलाई हाइलाइट गर्ने अपेक्षा गरिएको छ। जेमिनीले जीमेल, गुगल डक्स, क्रोम र एन्ड्रोइड जस्ता सेवाहरूमा विस्तारित कार्यक्षमता प्राप्त गर्न सक्ने बताइएको छ।
नयाँ टुल्सले प्रयोगकर्ताहरूलाई रियल–टाइम एसिस्टेन्स र इनहान्स रिजनिङ (परिष्कृत तर्क) मा केन्द्रित हुँदै क्यामरा इनपुट वा स्क्रिन सेयरिङ मार्फत जेमिनीसँग अन्तक्र्रिया गर्न अनुमति दिने बताइएको छ।
कम्पनीले प्रोजेक्ट एस्ट्रामा पनि अपडेटहरू प्रदान गर्न सक्ने उल्लेख गरिएको छ जुन यसले पहिले अर्को पुस्ताको एआई एसिस्ट्यान्ट प्लेटफर्मको रूपमा प्रस्तुत गरेको थियो। प्रोजेक्ट एस्ट्राले मोबाइल डिभाइसहरू र सम्भावित रूपमा वेयरेबल हार्डवेयर मार्फत भिजुअल इनपुट, भ्वाइस कमाण्ड र कन्टेक्सचुअल रेसपोन्स (प्रतिक्रिया) हरू ह्यान्डल गर्ने लक्ष्य राखेको उल्लेख छ।
अरु के घोषणा हुन सक्छन्?
गुगलले एक्सटेन्डेन्ट रियालिटी डिभाइसहरूको लागि डिजाइन गरिएको एन्ड्रोइड अपरेटिङ सिस्टमको संस्करण एन्ड्रोइड एक्सआरको बारेमा थप जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसमा गुगलले सह–विकास गरिरहेको सामसङको आगामी प्रोजेक्ट मुहान हेडसेटसँग सम्बन्धित अपडेटहरू समावेश हुन सक्ने बताइएको छ। कम्पनीले अघिल्ला आई/ओ कार्यक्रमहरूमा देखाइएको जस्तै यसपटक पनि नयाँ स्मार्ट ग्लासेसहरू प्रदर्शन गर्न सक्ने उल्लेख गरिएको छ।
यस वर्षको कार्यक्रममा हार्डवेयर घोषणाहरू नगरिने सम्भावना रहेको बताइएको छ। गुगलले सामान्यतया आफ्नो फल हार्डवेयर प्रदर्शनको लागि नयाँ पिक्सेल वा नेस्ट प्रोडक्टको खुलासाहरू आरक्षित गर्ने गरेको छ। यद्यपि, आई/ओ २०२५ ले अझै पनि जेमिनी र एन्ड्रोइड एक्सआरको सम्बन्धमा वेयरेबल्स वा एआर हार्डवेयरसँग सम्बन्धित अवधारणाहरूको पूर्वावलोकन प्रदान गर्न सक्ने उल्लेख गरिएको छ।
अन्य थप घोषणाहरूले गुगलको प्रोडक्टिभिटी एप्स, प्ले स्टोर नीतिहरू र एन्ड्रोइड र क्रोममा एक्सेसिबिलिटी फिचर्समा सुधारहरूको अपडेट समेट्न सक्ने बताइएको छ। विकासकर्ताहरूले मुख्य भाषण पछि फायरबेस, फ्लटर, एन्ड्रोइड स्टुडियो, र एआई टूलकिटहरूमा सत्रहरूको अपेक्षा गर्न सक्ने बताइएको छ।
गुगल आई/ओ २०२५ मे २१ तारिख सम्म चल्नेछ, जसमा प्रत्यक्ष प्राविधिक सत्रहरू, प्रोडक्ट डेमोहरू, र छलफलहरू समावेश हुनेछन्। कार्यक्रमको लागि आई/ओ वेबसाइटमा निशुल्क दर्ता गर्न सकिने छ जहाँ डेभलपरहरूले सत्र रिप्ले र थप स्रोतहरू पहुँच गर्न सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार