भक्तपुर अस्पतालमा सिटीस्क्यान सेवा विस्तार

Technology Khabar ५ जेष्ठ २०८२, सोमबार

भक्तपुर अस्पतालमा सिटीस्क्यान सेवा विस्तार
सांकेतिक/फाइल तस्बिर

काठमाडौं ।

भक्तपुर अस्पतालमा पहिलोपटक सिटीस्क्यान मेसिन, क्यान्सर रोगको परीक्षण गर्ने मेमोग्राफी मेसिनसहित पाँचवटा वार्ड सञ्चालन गरिएको छ। भक्तपुर अस्पतालले आज यहाँ आयोजना गरेको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सिटीस्क्यान मेसिन, मेमोग्राफी मेसिन, मानसिक वार्ड, बर्थिङ वार्ड र बालरोग आइसियू (पिआइसियू) वार्डको उद्घाटन गर्नुभएको हो।

मन्त्री थापाले पुरानो भए पनि भक्तपुर अस्पतालमा उपकरणहरु जडान गर्न लामो समय लागेको उल्लेख गर्दै भक्तपुर अस्पताललाई उपकरणदेखि सेवा विस्तारसम्मका लागि प्रदेश सरकारले बजेट तथा जनशक्ति व्यवस्थापन गर्दै आएको बताए। देशको उत्कृष्ट अस्पतालका रुपमा पहिचान बनाएको भक्तपुर अस्पतालमा प्रदेश सरकारको रु आठ करोडमा सिटीस्क्यान र रु एक करोड १० लाखको लागतमा स्तन क्यान्सरको परीक्षण गर्ने मेमोग्राफी मेसिन जडान गर्न सफल भएको उनले बताए।

मन्त्री थापाले भने, “भक्तपुर अस्पताललाई सुविधासम्पन्न नयाँ भवन निर्माणका लागि डिपिआर निर्माणका गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ। यसै आर्थिक वर्षमा यस अस्पतालमा न्युरो सेवा सुरु गर्न रु एक करोड बजेटको व्यवस्थापन गरेका छौँ। आँखाको विशिष्ट सेवा पनि यही आवमा सुरु गर्दैछौँ।”

अस्पतालमा मदन भण्डारी मेमोरियल अस्पतालसँगको सहकार्यमा चौबिसै घण्टा टेलिमेडिसिन सेवा सुरु गरिँदै छ। यस अस्पतालमा यही वर्ष कम्तीमा पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने तयारी छ। प्रदेशका सबै अस्पतालको स्तरोन्नति र जनशक्तिको व्यवस्थापन गरिँदै छ।

कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा हुन सफल भएको र यस वर्ष पनि आकस्मिक अनुगमनमा ९३ प्रतिशत तथा बागमती प्रदेशभित्रका अस्पतालमध्येमा ९८ प्रतिशत अङ्क ल्याउन सफल भएको बताइन्।

उनले भनिन्, “भक्तपुर अस्पताललाई ठाउँको अभाव छ, पाँच वर्षका लागि दिएको भवन मानव अङ्गले अझै नछाड्दा समस्या आएको छ। भवन भएमा प्रदेश सरकारले मुटुका बिरामीलाई काठमाडौँ धाउनु नपर्ने गरी सेवा दिन सक्छ, ठाउँ नहुँदा स्वीकृत पाएको ३०० शय्या पूरै सञ्चालनमा ल्याउन सकेका छैनौँ।

पूर्वाधार भए मेडिकल कलेज सञ्चालन गर्न सक्छौँ। ठाउँ नहुँदा भक्तपरका लागि ल्याउन लागेको क्याथ ल्याब हेटौंडा पुग्यो। ठाउँको व्यवस्थापनका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ।”

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठले सिटीस्क्यानलगायत भिडियो एक्स–रे र अन्य उपकरण चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने औँल्याउँदै सुविधासम्पन्न भवन निर्माणका लागि सबै एकमत भएर अगाडि बढ्न आह्वान गरे।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता डिपी ढकाल, भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापालगायतले सेवा शुभारम्भसँगै जिल्लावासीले गुणस्तरीय र सहज सेवा पाउने विश्वास व्यक्त गरे।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्दै अस्पतालमा अझै विविध सेवा थप्न बाँकी रहेको, नयाँ भवनको आवश्यकता रहेको, न्युरो सेवा, आँखाको विविध सेवा, मिर्गौला बिरामीका लागि डायलासिस सेवा, मुटुका बिरामीका लागि क्याथ ल्याब सेवालगायतका सेवाहरु थप गर्दै जाने योजना रहेको बताए। कार्यक्रममा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको थियो।-रासस

Sajilo Visa

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार