क्यान महासंघमा भाँडभैलो, अध्यक्षले एक पक्षिय वरिष्ठ उपाध्यक्ष र सचिवहरु चयन गर्दै, सञ्चारमन्त्रीका विज्ञ फेरी विवादमा

Technology Khabar ४ जेष्ठ २०८२, आईतवार

क्यान महासंघमा भाँडभैलो, अध्यक्षले एक पक्षिय वरिष्ठ उपाध्यक्ष र सचिवहरु चयन गर्दै, सञ्चारमन्त्रीका विज्ञ फेरी विवादमा
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पदाधिकारीहरुबिच चरम विवाद उत्पन्न भएको छ। आज राखिएको क्यान महासंघको केन्द्रीय कार्य समिति बैठकमा चर्काचर्की परेसँगै क्यान महासंघ भित्रको विवाद छताछुल्ल भएको हो। नयाँ कार्यसमिति चयनभएसँगै शुरु भएको विभिन्न खेमाबिचको द्वन्द हाल उत्कर्षमा पुगेको छ।

यसअघि क्यान इन्फोटेक र स्पष्टिकरण पत्रले विवादमा आएको क्यान महासंघ अहिले फेरी वरिष्ठ उपाध्यक्ष र सचिव चयन गर्ने विषयले विवादमा आएको हो।

आजको बैठकमा ३ जना सचिव र वरिष्ठ उपाध्यक्ष चयन गर्ने योजनाका साथ अध्यक्ष सुनैना पाण्डे घिमिरेको नेतृत्वको खेमाले तयारी गरेसँगै बैठकमा चर्काचर्की र विवाद भएको हो।

बैठक स्रोतकाअनुसार अध्यक्ष पाण्डे र महासचिव चन्द्र विलास भुर्तेल बिच चर्को बहस भएको थियो। अध्यक्ष पाण्डेले पदाधिकारीहरुमा आफ्नो बहुमत ल्याउने योजनाका साथ बैठक राखेको भन्दै अन्य पदाधिकारीहरुले लिखितरुपमै बैठक सार्न माग गरेकोमा त्यसको सुनुवाई नगरी जबर्जस्ती बैठक राखेको आरोप छ।

अध्यक्षले आफूले एजेन्डाहरु राख्न पाउनुपर्ने भन्दै महासचिवले बैठक राख्नका लागि कुनै कोअर्डिनेसन र सहयोग नगरेको आरोप लगाएकी थिईन्।

तर महासचिवले भने आफूलाई जानकारी नै नदिई एजेन्डाहरु तय गरिएको भन्दै एजेन्डाहरुमा असहमति जनाएका थिए। उनी अवैधानिक भएको भन्दै सो बैठक संचालन नगर्ने भनेर बाहिरिएका थिए।

यसबिचमा निवर्तमान अध्यक्ष रंजित पोदार र निवर्तमान *उपाध्यक्ष उमेश रघुबंशीले समेत अध्यक्षको पक्ष लिँदै चर्को स्वरमा नबोल्न र विवाद नगर्न भनेका स्रोतको दाबी छ।

महासचिव बाहिरिए लगत्तै सचिव सरिता न्यौपानेले बैठक संचालन गरेकी स्रोतले जानकारी दियो। स्मरण रहोस्, सचिव न्यौपानेले यसअघि विवादमा परेको हेटौंडामा आयोजित रणनितिक योजना बैठक समेत महासचिव उपस्थित नहुँदा संचालन गरेको बताईएको छ।

पदाधिकारीहरुको लिखित ध्यानकर्षण

यसअघिनै, आजको बैठक सार्न माग गर्दै ११ जना पदाधिकारीहरुले क्यान अध्यक्ष पाण्डेसमक्ष २०८२ जेठ २ गते ध्यानाकर्षण पत्र दर्ता गराएका थिए।

उनीहरुले सामूहिक पत्रमार्फत महासंघको पछिल्लो कार्यप्रवाह सम्बन्धी गम्भीर विषयहरूमा ध्यानाकर्षण गराएका थिए।

क्यान महासंघको नयाँ कार्य समिति निर्वाचित भएको चार महिना भइसकेको अवस्थामा महासंघको विधानअनुसार पदाधिकारी बैठक ६० दिनभित्र अनिवार्य रूपमा बस्नुपर्नेमा राख्न नसकेको आरोप लगाईएको छ।

यसैगरी कार्यसमिति बैठक कम्तिमा तीन महिनामा एकपटक अनिवार्य रूपमा बस्नुपर्ने व्यवस्था रहेको स्मरण गराईएको छ।

“तर, अहिलेसम्म एकपल्ट पनि पदाधिकारी बैठक नबसेको अवस्थालाई हामी अत्यन्तै गम्भीर रूपमा लिएका छौं। यसप्रति हामी गहिरो चिन्ता व्यक्त गर्दै यथाशिघ्र पदाधिकारी बैठक आह्वान गरियोस् भन्ने आग्रह गर्दछौं ।हामीलाई प्राप्त जानकारी अनुसार, आगामी जेष्ठ ४ गते कार्यसमिति बैठक आह्वान गरिएको छ, जसमा वरिष्ठ उपाध्यक्ष तथा सचिव पदहरूमा निर्वाचन गरिने उल्लेख छ। यस सन्दर्भमा, गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका केन्द्रीय सदस्य तथा सचिव पदका उम्मेदवार श्री चिन्तामणि बास्तोला हाल वैदेशिक यात्रामा रहनुभएको छ। उहाँले आफ्नो अनुपस्थितिको पूर्व जानकारी दिँदै उम्मेदवारीसम्बन्धी औपचारिक निवेदन महासंघमा पेश गरिसक्नुभएको छ।” पत्रमा भनिएको छ।

यसका साथै उनीहरुले पूर्वसूचना दिइसकेका उम्मेदवारलाई निर्वाचन प्रक्रियाबाट सहभागिता बाहिर राख्न नहुने भन्दै यसलाई संवेदनशील र व्यावहारिक दृष्टिकोणले मूल्यांकन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

सामूहिक पत्रमार्फत उनीहरुले महासंघको पदाधिकारी बैठक यथाशिघ्र आयोजना गर्न, सचिव पदका उम्मेदवार चिन्तामणि बास्तोलाको निवेदनलाई सम्मानपूर्वक र सकारात्मक रूपमा विचार गर्न, क्यान महासंघलाई सुदृढ, सक्षम, पारदर्शी र समावेशी प्रतिनिधित्वयुक्त संस्थाका रूपमा अगाडि बढाउन माग गरेका छन्।

उपाध्यक्ष खड्काको फरक मतसहितको पत्र

क्यान महासंघका अर्का उपाध्यक्ष सुभाष खड्काले अध्यक्ष र महासचिव दुबैलाई एकै पत्र पठाउँदै दुबै बिचका असहमति हटाएर क्यान महासंघको गतिबिधि सुचारु गर्न माग गरेका छन्।

उनले आजको बैठकको एजेन्डा सम्बन्धी सचिवालयबाट हालै जारी गरिएका दुई विरोधाभासयुक्त इमेलहरूको बारेमा उल्लेख गर्दै एजेन्डाहरु हतारमा परिवर्तन र संशोधन गर्दा संस्थाको आन्तरिक प्रक्रियाहरू, व्यावसायिकता गुम्ने चिन्ता जाहेर गरेका छन्।

र जानकारीको प्रवाहको बारेमा महत्त्वपूर्ण प्रश्नहरू खडा हुन्छन्। धेरै सहकर्मीहरूले वास्तविक अवस्थाको बारेमा भ्रम र अनिश्चितता व्यक्त गरेका छन्।

हामीले ओबी (पदाधिकारी) बैठक र त्यसपछि कार्यकारी समितिको बैठक गर्ने अभ्यास पनि गरेका थियौं। यस अवस्थामा, जब मैले अधिकारीहरूलाई सोधें, यो पूर्ण रूपमा बेवास्ता गरिएको देखियो,” उनले क्यानलाई पठाएको पत्रमा लेखेका छन्,”यस्तो संस्कृति: ‘जे सजीलो, लाग्यो त्यहि गर्ने, बिधि पद्दतिको ख्यालनै नगर्ने, बेवास्था, कहिँ बाधा अड्चन छन भने सोको बारेमा  समेत छलफल नगर्ने’ म लगायतका वर्तमान समितिका सदस्यहरूको लागि हानिकारक छ।”

सञ्चार मन्त्रीका विज्ञको दौडधुप

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका विज्ञ सल्लाहकार डा शालिग्राम पराजुली क्यान कार्यसमितिमा मनोनित भएसँगै विवादमा पर्दै आएका छन्। उनले सल्लाहकारको पदको मर्यादा नराखेर क्यान कार्यसमिति सदस्य हुन गरेको भन्दै त्यसबेला विवाद उब्जिएको थियो। आइतबारको विवादित बैठकमा समेत उनी उपस्थित रहेका छन्।

उनी विशेषगरी दुबै पक्षलाई मध्यस्थता गरेर अध्यक्ष पाण्डेको एजेण्डा पारित गराउन लागेका बैठक स्रोतको भनाई छ।

अध्यक्ष पाण्डेले उपाध्यक्ष चिरन्जीवी अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गर्ने र अन्य तीन सचिवहरुमा आफ्ना पक्षका सदस्यहरुलाई मनोनित गर्ने तयारी रहेकोछ।

सञ्चार मन्त्रीका विज्ञ सल्लाहकारले समेत उपाध्यक्ष अधिकारीलाई नै वरिष्ठ उपाध्यक्ष बनाउन जोडबल गर्दै आएका छन्।

यसअघि पनि हेटौँडा बैठकबाट अधिकारीलाई उपाध्यक्ष बनाउने तयारी भएपनि गणपुरक संख्यानै नपुग्दा योजना तुहिएको थियो।

उपाध्यक्ष अधिकारी यसअघि टेरामोस प्रकरणमा क्यान महासंघ जोडिँदा विवादमा परेका थिए।

सम्बन्धित समाचार-

टेरामोस लागू नगर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध लाग्न क्यान महासंघलाई ‘उक्साउँदै’ दूरसञ्चार प्राधिकरण

विज्ञ सल्लाहकार डा. पराजुली ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) को अध्यक्ष रहेका छन्। उक्त संस्था क्यानका उपाध्यक्ष अधिकारीकै नेतृत्वमा स्थापना भएको थियो र हाल संस्थाको प्रेसिडेन्ट काउन्सिलमा चिरञ्जीवी अधिकारीको नेतृत्व रहेको छ।

उनी हेटौंडामा आयोजित रणनितिक योजना बैठकमा नै कार्यसमिति सदस्य मनोनित भएका थिए। तर त्यसबेला सो जानकारी गुपचुप राखिएको थियो।

क्यान महासंघका कोषाध्यक्षलाई सोधिएको स्पष्टिकरण बारे अध्यक्ष परिषदको बैठक बस्दै, सञ्चारमन्त्रीका सल्लाहकार पनि विवादमा

 

महासचिव र अध्यक्षको फरक फरक ईमेल

यसैबीच महासचिव भुर्तेलले कार्यसमिति सदस्यहरुलाई पठाएका बैठकका एजेन्डाहरुमा सहमति गरेपछि पनि फेरी अध्यक्ष पाण्डेले त्यसलाई संसोधन गरेर पुनः एजेन्डा थप गरेर ईमेल पठाएको देखिन्छ।

टेक्नोलोजीखबरले पाएको जानकारीअनुसार, उनले आजको बैठकमा महासचिवले राखेका १२ ओटा एजेन्डाहरुलाई संसोधन र थप गरेर १९ बुँदे एजेन्ड अन्तिम समयमा पठाएकी थिईन्। जसमा उनले⁠ ⁠रिक्त पदाधिकारीहरूको बारेमा छलफलअन्तरगत वरिष्ठ उपाध्यक्षको विषयमा छलफल र रिक्त व्यक्तिगत, संस्थागत, जिल्लाका सचिवहरूको विषयमा छलफल गर्ने एजेन्डा थप गरेको देखिन्छ।

अध्यक्षको ताइवान भ्रमण विवादमा

यसैबीच अध्यक्ष पाण्डे ताइवानमा आयोजना हुने कम्प्युटेक्समा सहभागी हुन आज त्यसतर्फ जाने तालिका छन् । अध्यक्षसहित अन्य कार्यसमिति सदस्यहरु समेत टोलीमा जाँदैछन्। अध्यक्ष पाण्डेले उक्त कार्यक्रमका लागि क्यान महासंघबाट दैनिक भ्रमण भत्ता उपलब्ध गराईनुपर्ने माग गरेकी थिईन्। तर क्यानका अध्य पदाधिकारीहरुले भने हाल त्यस्तो भत्ता रकम उपलब्ध गराउन नसकिने बताएका थिए।

“अध्यक्ष ज्यूले दैनिक भ्रमण भत्ता माग्नुभएकोमा हालको अवस्थामा दिन नसकिने जानकारी दिएका छौं। उहाँलाई दिँदा सँगै जाने अरु पदाधिकारीहरुलाई समेत भत्ता रकम दिनुपर्ने हुन्छ,” क्यान स्रोतले भन्यो, “तर क्यानमा त्यसरी दैनिक भ्रमण भत्ता दिन सकिने बजेट छैन्।”

सचिवका आकांक्षीको आग्रह पत्र

यसैगरी कार्यसमितिमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका पोखराका चिन्तामणी बास्तोलाले आफूपनि उम्मेदवार हुने जानकारी दिँदै बैठक सार्न आग्रह गरेका थिए। उनले आफू व्यक्तिगत कारणले बाहिर रहेको भन्दै सचिव मनोनित गरिने उक्त बैठकमा आउन नसकिने भन्दै बैठक सार्न आग्रह गरेका हुन्। बास्ताोलाले सबै उम्मेदवारहरु सहभागी हुनेगरी अर्को बैठक राखेर चुनाव गराउन भनेका छन्।

“तर उनी अध्यक्ष पाण्डेको खेमा भन्दा बाहिरका उम्मेदवार परेर उपस्थित नहुँदा अध्यक्षले बैठकबाट आफ्ना पक्षका सचिव चयन गर्न सहज भएकोछ,” जानकार स्रोतले भन्यो।

महासचिवको भनाई

यसैबीच, महासचिव भुर्तेलले आफूले बैठक बहिष्कार गरेको जानकारी टेक्नोलोजीखबरलाई दिएका छन्। उनले आफुले वैधानिक तरिकाले बैठक राख्न खोजेपनि नसकेपछि वहिष्कार गरेको बताए।

“यसअघिको कार्यसमितिमा अध्यक्ष ज्यूसँग मैले गरेका प्रश्नहरुको जवाफ हालसम्म नआएको हुँदा बैठक बहिष्कार गरेको हुँ। म बाहिरिसकेको छु, बैठकको बारेमा अरु जानकारी छैन्,” उनले भने।

यसबीचमा बैठक जारी रहेको स्रोतले बताएको छ।

* उपाध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ -सम्पादक

प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया