Technology Khabar ४ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
अनलाइन र प्रविधिमैत्री संसार भइरहेका बेला सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रका घर घरमा डिजिटल घर नम्बर राख्ने काम सुरु गरेको छ। लोकेसन थाहा पाउनेदेखि राजस्व सकलनसम्ममा योगदान रहने डिजिटल घर नम्बर प्रणालोको इनरुवाका नगरप्रमुख केदार भण्डारीले शुभारम्भ गरेका छन्।
इनरुवा नगरपालिकामा डिजिटल घर नम्बर प्रणालीको उद्घाटन गर्दै भण्डारीले डिजिटल तथा प्रविधिमैत्री काम सुरु भएको जानकारी दिए।
भण्डारीले डिजिटल घर नम्बर प्रणालीको स्क्यान स्टिकर टाँसेर शुभारम्भ गरेकोमा घर नम्बर निर्धारण (म्याट्रिक्स विधि), क्युआर कोड प्रणालीको कार्य सुरु भएको जानकारी दिए। उनले पहिलो चरणमा इनरुवा नगरपालिका- १, २, ३ र ५ मा झन्डै चार हजार ८३२ घरधुरोमा डिजिटल घर नम्बर प्रणाली लागू गरेको जानकारी दिए।
यस प्रणालीले भूउपयोग र कित्ता नक्सा एकीकरण घर नम्बर प्रणालीलाई भूउपयोग र कित्ताको जिआइएस डाटासँग जोडिने भण्डारीले जानकारी दिए। उनले यसबाट सम्पत्ति कर र राजस्व अनुमान घरको क्षेत्रफल, प्रयोगको प्रकार स्थानका आधारमा कर निर्धारण गर्नसमेत योगदान गर्ने बताए।
उदघाटन कार्यक्रममा इनरुवाका सूचना अधिकृत नीरज पोखरेलले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकामा डिजिटल घर नम्बर प्रणालीको सुरु भएको र घर नम्बर निर्धारण (म्याट्रिक्स विधि) बाट प्रत्येक घरलाई सम्बन्धित सडकबाटको दुरीका आधारमा एक अद्वितीय नम्बर प्रदान गरिरहेको छ।
उनका अनुसार यदि कुनै घर सडकको सुरु विन्दुबाट १४५ मिटरमा छ भने त्यसको नम्बर १४५’ हुने छ। गुगल प्लस कोड समावेश जिपिएसका आधारमा प्रत्येक घरको प्लस कोड निकालिने छ जसलाई नम्बर प्लेटमा राखिने छ। यसले भूस्थानको अद्वितोय सुनिश्चित गर्छ।
उपप्रमुख विनीता मेहताले डिजिटल प्रोफाइल अद्यावधिक गर्न प्रत्येक घरसँग सम्बन्धित विवरण घरधुरीको नाम सम्पर्क नम्बर, व्यवसाय कोड स्क्यानबाट प्राप्त हुने भएकाले सार्थक प्रयास भएको बताए।
सडक नामकरणमा समेत योगदान पुगेको र अहिले अनियमित वा नामविहीन सडकलाई व्यवस्थित ढङ्गले नाम दिइने बताए। विकास योजनाको नक्साद्वारा अभिलेखीकरण गर्नसमेत यसले सहयोग गर्ने जनाएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार