रुस र चीन मिलेर चन्द्रमामा आणविक उर्जा केन्द्र बनाउने, समझदारी सम्पन्न

  • Technology Khabar | १ जेष्ठ २०८२, बिहीबार
रुस र चीन मिलेर चन्द्रमामा आणविक उर्जा केन्द्र बनाउने, समझदारी सम्पन्न
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

रूसले चन्द्रमामा आणविक उर्जा केन्द्र निर्माण गर्न चीनसँग सम्झौता गरेको छ।

चीन र रूसको नेतृत्वमा निर्माणाधीन अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान केन्द्र (आईएलआरएस) मा प्रयोग गरिने यो रूसी रिएक्टर सन् २०३६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। दुवै मुलुकबीच सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको जानकारी रूसी सञ्चारमाध्यम तासले दिएको छ।

यो घोषणाअघि नै नासाले सन् २०२६ को बजेट प्रस्ताव सार्वजनिक गर्दै चन्द्रमा वरिपरिको कक्षमा बनाइने भनिएको अर्बिटल लुनार बेस योजना हटाउने निर्णय गरेको थियो। रूसी अन्तरिक्ष निकाय रोस्कोस्मोसका महानिर्देशक युरी बोरिसोभले दिएको २०२४ को एक अन्तर्वार्तामा, चीन–रूसको संयुक्त रिएक्टर निर्माण मानवबिनै, पूर्ण रूपमा स्वचालित प्रणालीबाट गरिने बताएका छन्।

यद्यपि, यो कसरी सम्भव हुनेछ भन्ने स्पष्ट विवरण सार्वजनिक भइनसकेको उनले स्वीकारेका छन्। “आवश्यक प्राविधिक तयारीहरू लगभग पूरा भइसकेका छन्,” बोरिसोभले भनेका छन्।

रोस्कोस्मोसले मे ८ मा जारी गरेको वक्तव्यमा भनेको छ, “यो केन्द्रले आधारभूत अन्तरिक्ष अनुसन्धान गर्नेछ र लामो समयसम्म मानवरहित रूपमा सञ्चालन गर्न सक्ने प्रविधिको परीक्षण गर्नेछ। भविष्यमा यहाँ मानिसको उपस्थिति रहने सम्भावना पनि छ।”

चन्द्रमाको दक्षिणी ध्रुवमा निर्माण गरिने स्थायी मानवयुक्त केन्द्रको रूपमा योजनाबद्ध यो अनुसन्धान स्टेशनमा हालसम्म इजिप्ट, पाकिस्तान, भेनेजुएला, थाइल्याण्ड र दक्षिण अफ्रिकालगायत १७ देश सहभागी भइसकेका छन्। यसको आधार निर्माण चीनको सन् २०२८ को चाङ’ए ८ मिसनद्वारा गरिनेछ, जसमा पहिलो पटक चिनियाँ अन्तरिक्ष यात्री चन्द्रमामा अवतरण गर्नेछन्।

आईएलआरएसको कार्ययोजना पहिलो पटक सन् २०२१ को जुन महिनामा सार्वजनिक गरिएको थियो। त्यसअनुसार, चीन र रूसले सन् २०३० देखि २०३५ भित्र पाँच वटा सुपर हेभी लिफ्ट रकेट प्रक्षेपण गरेर मानवबिनाको चन्द्र केन्द्रका संरचना पठाउनेछन्।

एकपटक आधारभूत संरचना तयार भएपछि, चीनले थप प्रक्षेपणहरू गर्ने योजना बनाएको छ जसबाट चन्द्रमा कक्षमा घुम्ने अन्तरिक्ष केन्द्र, चन्द्र भूमध्यरेखार टाढा पट्टि पर्ने भागमा दुईवटा अतिरिक्त नोडहरू जोडिनेछन्। यो जानकारी चीनको गहिरो अन्तरिक्ष अन्वेषण परियोजनाका प्रमुख डिजाइनर वु यान्हुआले सन् २०२४ मा दिएका थिए।

स्पेस डटकमका अनुसार यो विस्तार गरिएको मोडलले सन् २०५० भित्र मानवीय मंगल अभियानको तयारी गर्न मद्दत गर्नेछ। वु का अनुसार, “यो केन्द्र सौर्य, रेडियोआइसोटोप र आणविक उर्जा स्रोतहरूले सञ्चालन हुनेछ। यसमा चन्द्र–पृथ्वी र उच्च-गति सञ्चार सञ्जाल, होपर्स, मानव रहित लामो दुरीका सवारी साधन, तथा प्रेशरयुक्त र अप्रेशरयुक्त मानवीय रोभरहरू समावेश हुनेछन्।”

यो सम्झौता चीनको बढ्दो अन्तरिक्ष महत्वाकांक्षाका बीच आएको हो। चीनले सन् २०१३ मा चाङ’ए-३ मिसनद्वारा चन्द्रमामा रोभर अवतरण गराएर चन्द्र सतहमा उपस्थिति जनाइसकेको छ। त्यसयता, उसले थप रोभरहरू चन्द्रमा र मंगल ग्रहमा उतारेको छ, चन्द्र सतहबाट नमुना संकलन गरेको छ, र चन्द्रमाको दुवै भागको नक्सांकन पनि गरिसकेको छ।

चीनको चन्द्रमा केन्द्र निर्माण अभियान अमेरिकाको आर्टेमिस कार्यक्रमसँग प्रतिस्पर्धामा रहेको छ। तर हाल सो कार्यक्रम ढिलाइको सामना गरिरहेको छ। करिब ५० वर्षपछि फेरि अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने नासाको आर्टेमिस ३ मिसनसन् २०२७ मा प्रक्षेपण हुने अनुमान गरिएको छ।

यसैबीच नासाको चन्द्र कक्षीय अन्तरिक्ष केन्द्र “गेटवे” को भविष्य अनिश्चित भएको छ। ट्रम्प प्रशासनले सार्वजनिक गरेको सन् २०२६ को बजेटमा गेटवे परियोजना रद्द गर्ने प्रस्ताव गरिएको छ, यद्यपि त्यसको संरचनात्मक विकासमा उल्लेखनीय प्रगति भइसकेको छ।

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...