वर्षको पहिलो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार ८.५ प्रतिशतले बढ्योः क्यानालिस

Technology Khabar १ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

सन् २०२५ को पहिलो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार वर्षिक रुपमा ८.५ प्रतिशतले वृद्धि भएको क्यानालिसले रिपोर्ट गरेको छ। ढुवानीमा वृद्धि हुनुका विभिन्न बजारहरूमा फरक–फरक कारणहरू थिए।

महामारीको समयमा मानिसहरू घरबाट काम/अध्ययन गर्दा ट्याब्लेट बिक्रीमा तीव्र वृद्धि भएको थियो। यद्यपि, ती स्लेटहरू अब ४–५ वर्ष पुरानो भइसकेका छन् र प्रतिस्थापनको आवश्यकताले गर्दा पहिलो त्रैमासिकमा अमेरिकामा ढुवानी बढेको बताइएको छ।

ट्रम्प प्रशासनले धेरै उत्पादनहरूमा ब्ल्याङ्केट ट्यारिफ (अतिरिक्त शुल्क) लिने घोषणा गरेको थियो, तर चाँडै नै स्मार्टफोन, ट्याब्लेट र चिप्सलाई यी शुल्कबाट मुक्त गरेको हुनाले यसको ठूलो प्रभाव नपरेको बताइएको छ।

यद्यपि, ट्यारिफहरूले अझै पनि प्रभाव पार्ने र अन्य चीजहरू महँगो हुँदै जाने उल्लेख गरिएको छ। ट्याब्लेटहरू अन्य डिभाइसहरूको तुलनामा अपग्रेड गर्न कम प्राथमिकतामा पर्ने वस्तु भएकोले ट्याब्लेटहरूको अपग्रेड साइकल (चक्रहरू) लामो हुने क्यानालिसले अनुमान गरेको छ।

त्यसैगरी चीनमा, सरकारले उपभोक्ता अनुदानहरू प्रदान गरेको बताइएको छ, जुन परम्परागत लुनार नयाँ वर्षको छुटसँग मेल खाएको र जसका कारण बजारले ढुवानीमा दोहोरो अंकको वृद्धि देखेको हो।

स्मार्टफोन बजारको विपरीत, एप्पलले चीनमा शीर्ष स्थान कायम राखेको छ। साथै ह्वावे र शाओमीको पनि वृद्धि भएको बताइएको छ भने अनरले मूल्य–उन्मुख क्षेत्रमा सफलता देखेको उल्लेख गरिएको छ।

विश्वव्यापी रूपमा, एप्पल फराकिलो अन्तरले अग्रणी ट्याब्लेट ब्रान्ड बन्न सफल भएको छ। कम्पनीले १ करोड ३७ लाख युनिट बिक्री गरेको र १४ प्रतिशत वार्षिक वृद्धि भएको उल्लेख गरिएको छ। दोस्रो स्थानमा कायम गरेको सामसङको भने ५.२ प्रतिशत गिरावट देखिएको छ।

त्यसैगरी, शाओमी द्रुत गतिमा बढिरहेको र त्रैमासिकमा ३० लाख युनिट (+५६.१ प्रतिशत वार्षिक) ढुवानी गरेको भएपनि एप्पल र सामसङभन्दा धेरै पछाडि रहेको छ। शाओमीले लेनोभोलाई उछिनेको छ, जुन अहिले चौथो स्थानमा रहेको छ। ह्वावे अझै पनि शीर्ष ५ मा पर्न सफल भएको छ। चीनमा राम्रो प्रदर्शन गरेपनि, विश्वव्यापी बजारमा ह्वावेको लोकप्रियता घट्दै गएको (१२.५ प्रतिशत गिरावट आएको) बताइएको छ।

समग्रमा वर्षको पहिलो त्रैमासिकमा ट्याब्लेट बजार स्थिर देखिएको रिपोर्ट गरिएको छ।

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया