रेब्यान मेटा स्मार्ट चश्मा मे १९ देखि भारतमा बिक्रीका लागि उपलब्ध हुने

Technology Khabar ३१ बैशाख २०८२, बुधबार

काठमाडौं ।

मेटाले मंगलबार जनाएको अनुसार यसको रे-ब्यान मेटा स्मार्ट चस्मा मे १९ देखि भारतमा बिक्रीका लागि उपलब्ध हुनेछ। यसको सुरुवाती मूल्य ₹२९,९९० (करीब ३५३ डलर) राखिएको छ।

स्मार्ट चस्मा हाल रे-ब्यानको वेबसाइटमा प्रि-अर्डर गर्न सकिन्छ र बिक्री सुरु भएपछि रे-ब्यान स्टोरहरूमा पनि उपलब्ध हुने टेकक्रञ्चले उल्लेख गरेको छ।

मेटाका अनुसार भारतमा सार्वजनिक हुने स्मार्ट चस्माले मेटा एआईलाई समर्थन गर्नेछ, जसले तपाईंको अगाडि के छ भन्ने जानकारी दिन सक्ने, अडियो र भिडियो लाइभ अनुवाद गर्न सक्ने, तपाईंको फोनमार्फत सन्देश पठाउन तथा कल गर्न सक्ने लगायतका काम गर्न सक्छ।

हाल स्मार्ट चस्माले अंग्रेजी, फ्रेन्च, इटालियन र स्पेनिश भाषाको लाइभ अनुवाद अफलाइन मोडमै समर्थन गर्छ। तर मेटाले अहिलेसम्म भारतीय भाषाहरूको समर्थन भने थपेको छैन।

कम्पनीले भारतमा स्पोटिफाई, अमेजन म्युजिक, शाजाम र एप्पल म्युजिकजस्ता एपमार्फत चस्माबाट सीधा संगीत बजाउने सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

मेटाका अनुसार २०२३ मा सुरु गरिएको यस्ता स्मार्ट चस्माका झन्डै २० लाख जोडी अहिलेसम्म बिक्री भइसकेका छन्।

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया