Technology Khabar ३१ बैशाख २०८२, बुधबार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले मंगलबार हालसम्मकै सबैभन्दा पातलो फ्ल्यागशिप मोडेल सार्वजनिक गरेको छ। यो मोडेलमा कम्पनीले कृत्रिम बुद्धिमत्ताका सुधारिएको फिचरहरू राखेको छ, जसको लक्ष्य प्रिमियम बजारमा प्रतिस्पर्धी एप्पललाई उछिन्नु हो।
“प्रतिक्रिया स्पष्ट थियो – प्रयोगकर्ताहरूले अझ पातलो र सजिलै बोक्न मिल्ने फोन चाहेका थिए, जुन कार्यसम्पादनमा सम्झौता नगर्ने होस्,” सामसङले भनेको छ। कम्पनीले प्रिन्टेड सर्किट बोर्ड र थर्मल सिस्टमजस्ता भित्री भागहरू पातलो बनाउँदै संरचनागत परिवर्तन गरेको जनाएको छ।
विश्लेषकहरूले भने सामसङले यो मोडेल एप्पलभन्दा अगाडि नै बजारमा ल्याएर रणनीतिक रूपमा फाइदा उठाउन खोजेको बताएका छन्। एप्पलले यो वर्षको उत्तरार्धमा पातलो आइफोन ल्याउने अपेक्षा गरिएको छ।
“केही महिना अगाडी नै उत्पादन ल्याउँदा सामसङले एप्पलमा केही असर पुर्याउन सक्छ र पातलो स्मार्टफोन खोजिरहेका उपभोक्तालाई आकर्षित गर्न सक्छ। यो निर्णय मागको त्यो वर्ग समेट्ने हिसाबले योजना बनाइएको देखिन्छ,” एनएच इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ-होले भने।
सामसङका अनुसार एस२५ एजको बिक्री दक्षिण कोरियामा मे २३ बाट र अमेरिकामा मे ३० बाट सुरु हुनेछ। कम्पनीले यो मोडेललाई चीन र युरोपलगायत करिब ३० देशमा विस्तार गर्ने योजना बनाइएको छ।
एस२५ एज विशेषगरी २० र ३० को दशकका उपभोक्तामाझ बढ्दो मागलाई ध्यानमा राखेर ल्याइएको हो, जसमा अझ पोर्टेबल स्मार्टफोनको खोजी बढिरहेको छ।
१०९९ डलरबाट सुरु हुने यो मोडेलमा ६.७ इन्च (१७० मिमि) स्क्रिन र ५.८ मिमि मोटाइ रहेको छ। यो एस२५ को बेसिक मोडेलभन्दा ठूलो भए पनि तौलमा खासै फरक छैन।
एस२५ एजमा सामसङको नवीनतम एआई फिचरहरू छन्, जसमा मल्टिमोडल एआई पनि सामेल छ। यसले प्रयोगकर्तालाई क्यामेरा र आवाजको माध्यमबाट वास्तविक समयमा यन्त्रसँग संवाद गर्न सक्ने बनाउने रोयटर्सले उल्लेख गरेको छ।
सामसङले यो नयाँ मोडेल कहाँ उत्पादन गरिएको हो भन्ने खुलाएको छैन। मोबाइल सार्वजनिक गर्ने कार्यक्रममा सामसङले यसको कार्यसम्पादन र ताप नियन्त्रणमा समस्या आउन सक्ने भन्ने चिन्ता लिनु नपर्ने बतायो।
“कतिपयले पातलो फोनको कार्यसम्पादन कमजोर हुन्छ वा ताप नियन्त्रणमा समस्या हुन्छ भनेर चिन्ता गर्न सक्छन्,” सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी उपाध्यक्ष मुन सुङ-हुनले भने।
“हामीले पातलो डिजाइनमा अट्ने गरी भेपोर चेम्बर इञ्जिनियर गर्न सकेका छौं, र यसलाई सफल बनाउन सम्पूर्ण प्रयास गरेका छौं। एस२५ एजमा ताप बढ्ने चिन्ता लिनु पर्दैन भन्नेमा हामी विश्वस्त छौं,” मुनले भने।
सन् २०२५ को पहिलो त्रैमासिकमा सामसङ विश्वकै अग्रणी स्मार्टफोन बिक्रेता बनेको थियो। काउन्टरपोइन्ट रिसर्चको तथ्यांकअनुसार सामसङले विश्व बजारको २० प्रतिशत हिस्सा ओगट्दा एप्पलको हिस्सा १९ प्रतिशत थियो।
यद्यपि सामसङले गत महिनामा दोस्रो त्रैमासिकको आपूर्तिमा ट्यारिफ जोखिमले माग घटाएमा असर गर्न सक्ने जनाएको थियो।
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार