Technology Khabar २९ बैशाख २०८२, सोमबार
काठमाडौं ।
लगभग ५० वर्षमा पृथ्वीमा ल्याइएको चन्द्रमाको चट्टानको पहिलो नमूना चीनबाट बेलायत लगिएको छ। धुलोका साना कणहरू मिल्टन किन्सको उच्च सुरक्षा सुविधामा रहेको सेफ (दराज) भित्र बन्द गरेर राखिएका छन्।
बेलायतका वैज्ञानिक, प्रोफेसर महेश आनन्दलाई यो अत्यन्तै दुर्लभ सामग्री ऋणमा दिइएको र उनले यसलाई सुनको धुलो भन्दा बहुमूल्य भनेर वर्णन गरेको बीबीसीले रिपोर्टमा भनेको छ।
विश्वमा कसैसँग पनि चीनको नमूनाहरूमा पहुँच थिएन, त्यसैले यो ठूलो सम्मान र ठूलो विशेषाधिकार भएको उनले बताएका छन्।
लेजरहरूले धुलोलाई ग्राइण्ड (पीसेर) र ज्यापिङ्ग गरेपछि प्रोफेसर आनन्दको टोलीले चन्द्रमा कसरी बनेको थियो भन्नेदेखि लिएर पृथ्वी ग्रहको प्रारम्भिक वर्षहरूको बारेमा आधारभूत प्रश्नहरूको जवाफ दिने आशा राखेका छन्।
धूलोका कणहरू भित्र ४.५ अर्ब वर्ष पहिले मंगल ग्रह जत्रै आकार भएको ग्रहसँग पृथ्वी ठोक्किँदा आएको भग्नावशेषहरूबाट चन्द्रमा बनेको थियो भन्ने वैज्ञानिकहरूको सिद्धान्तलाई समर्थन गर्ने प्रमाण हुन सक्ने बताइएको छ।
चीनले सन् २०२० मा आफ्नो चाङ्गे ५ अन्तरिक्ष अभियान मोन्स रुम्कर नामक ज्वालामुखी क्षेत्रमा अवतरण गर्दा चट्टानहरू सङ्कलन गरेको उल्लेख गरिएको छ।
रोबोटिक आर्मले माटोमा ड्रिल (खनेर) गरेर २ किलोग्राम सामग्री सङ्कलन गरिएको र सङ्कलन गरिएका उक्त नमूनालाई क्याप्सुलमार्फत पृथ्वीमा फिर्ता ल्याइएको थियो।
सन् १९७६ को सोभियत अभियान पछि यो पहिलो सफल चन्द्रमा नमूना सङ्कलन भएको र यसले चीनलाई नयाँ अन्तरिक्ष दौडमा अग्रणी स्थानमा पुर्याएको बताइएको छ।
त्यसैगरी, अन्तरिक्ष वैज्ञानिकहरू बीचको विश्वव्यापी सहकार्यको लामो परम्परा पछ्याउँदै, चीनले पहिलो पटक नयाँ खोजहरू गर्न सात अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूलाई नमूनाहरू प्रदान गरेको उल्लेख छ।
गत हप्ता बेइजिङमा भएको एक समारोहमा प्राध्यापक आनन्दलाई नमूनाको साना भायल (शीशी) हरू हस्तान्तरण गरिएको थियो।
“यो लगभग समानान्तर ब्रह्माण्ड जस्तै थियो र अन्तरिक्ष कार्यक्रमहरूमा लगानीको सन्दर्भमा चीन हामीभन्दा धेरै अगाडि छ” उनले भने।
मिल्टन किन्सको खुला विश्वविद्यालयमा रहेको उनको प्रयोगशाला भित्र जानको लागि स्टिकी (टाँसिने) म्याटहरूमा जुत्ताहरू सफा गरेर त्यसपछि प्लास्टिकको पन्जा, गाउन, हेयर नेट र हुड लगाउनु पर्ने हुन्छ। प्रदूषण रोक्नको लागि यो उच्च सुरक्षा कोठा भित्रको वातावरण स्पटलेस हुनुपर्ने उल्लेख छ।
यदि पृथ्वीका कुनै म्याटेरियल (पदार्थ) यी एक्स्ट्रा–टेरेस्ट्रियल (बाह्य–स्थलीय) स्पेक्सहरूसँग मिसियो भने, यसले प्राध्यापक आनन्दको टोलीले गर्ने विश्लेषणलाई स्थायी रूपमा खराब गर्न सक्ने उल्लेख गरिएको छ।
प्राध्यापक आनन्दले एउटा सेफ (दराज) खोलेर हार राख्न मिल्ने बक्सहरूको आकारको तीन कन्टेनरहरू भएको जिपलक झोला सावधानीपूर्वक निकाल्दै त्यसपछि एउटा पारदर्शी भायल (सामान्यतया बेलनाकार र शीशासबाट बनेको एउटा सानो कन्टेनर) मा कसिलो गरी प्याक गरिएको गाढा खैरो रङ्गको धुलो देखाउँदै त्यही नै चन्द्रमाको धुलो भएको बताए।
‘यो सरल लाग्न सक्छ, तर अन्तरिक्षमा यसको यात्राको बारेमा सोच्दा अचम्म लाग्छ।’ उनीहरूलाई यो जम्मा ६० मिलीग्राम भन्दा बढी नचाहिने प्रोफेसर आनन्दले बताए।
“यहाँ, सानो नै शक्तिशाली हुन्छ। मलाई विश्वास गर्नुहोस्, यो हामीलाई आउने वर्षहरूमा व्यस्त राख्न पर्याप्त छ किनभने हामी माइक्रोमा काम गर्ने विशेषज्ञ हौं” उनले थप उल्लेख गरे।
करिडोरको तलको प्रयोगशालामा, भायल (शीशी) भित्र रहेका ग्रेन्स (धुलोहरू) मा काम गर्ने पहिलो प्राविधिक ‘के नाइट’ हुने उल्लेख गरिएको छ।
उनले ३६ वर्षदेखि चट्टानका टुक्राहरू काट्दै र पिस्दै आएको बताइएको छ्। तर चन्द्रमाको सतहबाट सिधै ल्याइएको नमूनामा भने उनले पहिलो पटक काम गर्ने छन्।
“तर म नर्भस (चिन्तित) छु–नमूनाहरू धेरै छैनन् र तिनीहरूमा काम गर्नु सोचेको जस्तो सजिलो नहुने र यो प्राप्त गर्न गाह्रो हुने भएकोले यसमा धेरै जोखिम छ” उनले थप उल्लेख गरे।
उनले नमूनाहरू तयार गरेपछि, तिनीहरू दुई थप प्रयोगशालाहरूमा जाने जानकारी दिएका थिए। जसमा अनगिन्ती ट्यूबहरू, भल्भहरू र तारहरूको जटिल नेटवर्क भएको मेसिन रहेको एउटा प्रयोगशाला हुने बताइएको छ।
यो धेरै विशेष हुँदा दुर्लभ नमूनाहरू प्राप्त गर्न आफ्नो प्रयोगशाला छनोट गरिएको प्रोफेसर आनन्दले बताएका छन्।
धुलोको स्पेक्स भित्र कति अक्सिजन छ भनेर पत्ता लगाउन सक्ने मेसिन अर्का अनुसन्धान प्राविधिक जेम्स मल्लीले चलाउने छन्।
“यो चम्किन थाल्नेछ, र तपाईंले यसलाई भित्रतिर पग्लिएको देख्नुहुनेछ” उनले उल्लेख गरे।
टोलीसँग आफ्नो अनुसन्धान पूरा गर्न एक वर्षको समय रहेको बताइएको छ।
प्रकाशित: २९ बैशाख २०८२, सोमबार