
काठमाडौं ।
मेक्सिकोले गुगललाई आफ्नो म्याप्स (नक्सा) सेवामा अमेरिकी प्रयोगकर्ताहरूको लागि मेक्सिकोको खाडीको नाम ‘गल्फ अफ मेक्सिको’ बाट परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ को रुपमा नामकरण नगर्न बारम्बार गरिएको अनुरोधलाई बेवास्ता गरेकोमा गुगलमाथि मुद्दा दायर गरेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबमले बताइन्।
मेक्सिकोका राष्ट्रपतिले मुद्दा कहाँ दायर गरिएको भनेर खुलासा गरिनन्। बीबीसीले टिप्पणीको लागि गरेको अनुरोधको गुगलले जवाफ नदिएको बताएइको छ।
बिहीबार, रिपब्लिकन नेतृत्वको प्रतिनिधि सभाले संघीय एजेन्सीहरूको लागि आधिकारिक रूपमा खाडीको नाम परिवर्तन गर्न मतदान गरेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा आफ्नो पदभार ग्रहण गरेको पहिलो दिनमा खाडीको नाम परिवर्तन गर्न आह्वान गर्दै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। परिवर्तन जायज छ किनभने अमेरिकाले “त्यहाँ धेरैजसो काम गर्छ, र यो हाम्रो हो” भन्दै उनले तर्क गरेको उल्लेख गरिएको छ।
त्यसैगरी, शेनबमको सरकारले ट्रम्पको आदेश कन्टिनेण्टल शेल्फ (महादेशको समुद्र मुनि डुबेको क्षेत्र) को अमेरिकी भागमा मात्र लागू हुने तर्क गरेको छ।
अमेरिकालाई सम्पूर्ण खाडीको नाम परिवर्तन गर्ने अधिकारको छैन भन्दै “हामी केवल अमेरिकी सरकारले जारी गरेको आदेशको पालना होस् भन्ने चाहन्छौं” उनले भनिन्।
शेनबमले जनवरीमा गुगललाई एउटा पत्र लेखेर अमेरिकी प्रयोगकर्ताहरूको लागि मेक्सिकोको खाडीको नाम परिवर्तन गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेकी थिइन् भने त्यसको अर्को महिनामा उनले कानुनी कारबाही गर्ने धम्की दिएकी थिइन्।
त्यतिबेला, गुगलले आधिकारिक सरकारी स्रोतहरूद्वारा अद्यावधिक गर्दा नाम परिवर्तनहरू पछ्याउने “लामो समयदेखि चलिआएको अभ्यास” को एक भागको रूपमा यो परिवर्तन गरेको बताएको थियो।
गुगलले अमेरिका, क्युबा र मेक्सिकोसँग सिमाना जोडिएको खाडी – मेक्सिकोमा एप प्रयोग गर्ने मानिसहरूका लागि परिवर्तन गरिने छैन भनी बताएको थियो भने विश्वका अन्यत्र प्रयोगकर्ताहरूले “ गल्फ अफ मेक्सिको ( गल्फ अफ अमेरिका)“ लेबल देख्नेछन् भनि उल्लेख गरेको थियो।
एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीले गल्फ अफ अमेरिका (अमेरिकाको खाडी) को नाम प्रयोग गर्न अस्वीकार गर्दा ह्वाइट हाउससँग महिनौं लामो द्वन्द्व भएको बताइएको छ जसले केही कार्यक्रमहरूमा एपीको पहुँचलाई प्रतिबन्धित गरेको थियो।
एक संघीय न्यायाधीशले अप्रिलमा ह्वाइट हाउसलाई आउटलेटलाई बेवास्ता गर्न बन्द गर्न आदेश दिएको उल्लेख गरिएको छ।
ट्रम्पले बुधबार उनी अमेरिकातर्फको पानीको क्षेत्रको भागलाई अर्को नयाँ नाम सिफारिस गर्न सक्ने संकेत गरेका छन्।
साउदी अरबको आगामी भ्रमणको क्रममा, अमेरिकाले अबदेखि पर्सियन गल्फ (फारसी खाडी) लाई अरबीयन गल्फ (अरबी खाडी) वा गल्फ अफ अरबीया (अरबको खाडी) भनेर सम्बोधन गर्ने योजनाको ट्रम्पले घोषणा गर्ने एपीले रिपोर्ट गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले “बेतुका अफवाहहरू” “एक गलत सूचना अभियान बाहेक अरु केही होइन” र यस्तो कदमले “सबै इरानीहरूमा क्रोध निम्त्याउनेछ” भनि प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: २८ बैशाख २०८२, आईतवार