Technology Khabar २८ बैशाख २०८२, आईतवार
काठमाडौं ।
स्कोप्जेकी एक युवा विद्यार्थी हाना सेलमानिले हालै डिप्रेसनको पहिचान र निदानको लागि कृत्रिम बुद्धिमत्तामा आधारित कार्यक्रमको विकाससँग सम्बन्धित रहेको आफ्नो पहिलो वैज्ञानिक अध्ययन प्रकाशित गरेकी छिन्।
यो प्रणालीले अविश्वसनीय रुपमा ९९ प्रतिशतको एक्युरेसी (सटिकता) हासिल गरेको जनाइएको छ जसले मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण प्रयोगहरूको लागि योगदान पुर्याउने उल्लेख गरिएको छ।
स्कोप्जेको अन्तर्राष्ट्रिय संस्था एनओभीए (नोभा) मा हाई स्कूल पूरा गरेपछि, हानाले न्यूयोर्क विश्वविद्यालय अबु धाबीको कम्प्युटर विज्ञान विभागमा आफ्नो अध्ययन जारी राखिन्। त्यहाँको बसाइको क्रममा, उनले बायो–कम्प्युटेशनल इन्फर्मेटिक्स ल्याबोरेटरी (प्रयोगशाला) प्रमुख प्रोफेसर माई औदाहको परामर्शमा काम गरिन्।
यही सन्दर्भमा डाइजेस्टिभ ट्र्याक्टमा हुने सूक्ष्मजीवहरूको समुदाय – गट माइक्रोबायोम – बाट डाटा प्रयोग गरेर डिप्रेसन पहिचान गर्ने भन्ने उनको थेसिस विषयको जन्म भएको थियो।
उन्नत मेसिन लर्निङ प्रविधिहरूमा भर पर्दै, हानाले डिप्रेसन भएका व्यक्तिहरूलाई यो अवस्था नभएका व्यक्तिहरूबाट छुट्याउन माइक्रोबायोमको ब्याक्टेरिया संरचनामा परिवर्तनहरूको विश्लेषण गर्ने एक प्रिडेक्टिभ (अनुमान गर्ने) मोडेल विकास गरेको बताइएको छ।
यस उद्देश्यका लागि, उनी र उनको टोलीले मोडेल निर्माण गर्न ९० जना व्यक्तिहरूको डाटा प्रयोग गरेको र जसमध्ये ४३ जनालाई डिप्रेसनको निदान गरिएको थियो भने ४७ जनालाई डिप्रेसन नभएको पत्ता लगाइएको उल्लेख गरिएको छ।
“फिचर सेलेक्सन” प्रविधिहरू प्रयोग गरेर, उनीहरूले दुई समूहहरू बीच उच्च विशिष्टता प्रतिनिधित्व गर्ने ३० देखि ५० ब्याक्टेरिया पहिचान गरेको बताइएको छ, जसले परियोजनालाई डिप्रेसनको नयाँ बायोमार्करहरू पत्ता लगाउने सम्भावना प्रदान गरेको उल्लेख गरिएको छ।
मोडेलले प्रभावशाली प्रदर्शन देखाएको र जसको एयूसी स्कोर ०.९९१ भएको जनाइएको छ जुन ९९ प्रतिशतको शुद्धतासँग मेल खाएको उल्लेख गरिएको छ। यो उच्च स्तरको शुद्धताले प्रणालीलाई किफायती र आर्थिक अवरोध वा विशेषज्ञहरूको अभावका कारण मनोवैज्ञानिक मद्दत पहुँच गर्न कठिनाइ भएका धेरै मानिसहरूका लागि पहुँचयोग्य प्रारम्भिक निदानको रुपमा सम्भावित उपकरण बनाएको उल्लेख गरिएको छ।
यसको क्लिनिकल पक्षभन्दा बाहिर, यो अध्ययनले नयाँ अन्तरविषय पुलहरू सिर्जना गर्दै बायोइन्फर्मेटिक्सलाई मनोविज्ञानसँग जोडेको उल्लेख गरिएको छ। कार्यक्रमले मानसिक स्वास्थ्यमा माइक्रोबायोमको प्रभावमा थप अध्ययनको लागि आधार पनि प्रदान गरेको र थप गहन जैविक अनुसन्धानमा पत्ता लगाइएका बायोमार्करहरूको प्रयोगको लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिएको छ।
भविष्यमा, हानाले युनाइटेड किङ्गडममा मास्टर डिग्रीको साथ आफ्नो शैक्षिक यात्रा जारी राख्ने लक्ष्य राखेको र उनी चिप सुरक्षाको क्षेत्रमा दोस्रो लेख प्रकाशित गर्ने प्रक्रियामा रहेको बताइएको छ। साथै डिप्रेसन निदानमा उनको कामलाई प्रविधि कम्पनीहरू वा सार्वजनिक स्वास्थ्य संस्थाहरूले अपनाउने र यसले समाजमा व्यापक प्रभाव पर्ने सेलमानिले आशा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ बैशाख २०८२, आईतवार