इलन मस्कको ध्यान दीर्घकालीन भविष्यतर्फ, पृथ्वीको सुरक्षा गर्न मंगल ग्रहमा बसोबास आवश्यक

Technology Khabar २६ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

स्पेसएक्स संस्थापक इलन मस्कले मानवताको दीर्घकालीन अस्तित्वको लागि पृथ्वी बाहिर आफ्नो उपस्थिति विस्तार गर्नैपर्ने फेरि एकपटक स्मरण गराएका छन्। उनको नजरमा सबैभन्दा उपयुक्त गन्तव्य भनेको मंगल ग्रह हो, जुन सबैभन्दा नजिक र बसोबासयोग्य विकल्प मानिन्छ।

यो चेतावनी अहिलेका लागि मात्र होइन, तर दीर्घकालीन भविष्यका लागि हो। किनभने सौर्यमण्डलको केन्द्रीय तारा सूर्य समयसँगै झन् उज्यालो र तातो बन्दै गएको छ।

केही सय मिलियन वर्षपछि यसको ऊर्जाले पृथ्वीको वायुमण्डल हटाउनेछ र समुद्र उम्लिएर सुक्नेछ। त्यसपछि पृथ्वीमा जीवनको अन्त्य हुने सम्भावना बलियो हुन्छ। अझ करिब पाँच अर्ब वर्षपछि सूर्यको आकार विस्तार भएर रातो विशाल तारा (रेड जायण्ट) मा परिणत हुँदा पृथ्वी नै यसमा समाहित भई जल्ने स्पेस डटकमले उल्लेख गरेको छ।

फक्स न्युजका प्रस्तोता होस्ट जेसी वाटर्ससँगको अन्तर्वार्तामा मस्कले मंगल ग्रहप्रतिको आफ्नो मोहबारे बोल्दै भने, “मंगल ग्रहको एक फाइदा के हो भने, यो सामूहिक जीवनको बीमा जस्तै हो। अन्ततः पृथ्वीको सम्पूर्ण जीवन सूर्यद्वारा नष्ट हुनेछ। सूर्य विस्तार हुँदै गएको छ, र कुनै न कुनै समयमा हामीलाई बहुग्रही सभ्यता बन्नैपर्छ, किनभने पृथ्वी जल्नेछ।”

उनले पृथ्वीलाई “जीवन असम्भव हुने गरी तातो हुने” अवस्थासम्म पुग्न करिब ४५ करोड वर्ष लाग्ने अनुमान गरेका छन्। यस अवधिमा स्पेसएक्स लाई आफ्नो पूर्णपुन:प्रयोगयोग्य मेगारेकेट स्टारशिपको विकास र परीक्षण सम्पन्न गर्न पर्याप्त समय छ।

स्टारशिप हालसम्म आठ पटक उडान भइसकेको छ, जसमा दुई उडान सन् २०२५ मै (जनवरी र मार्च) सम्पन्न भएका छन्। ती दुवै आंशिक रूपमा सफल भए—सुपर हेभी बूस्टरले राम्रो प्रदर्शन गरे पनि माथिल्लो चरण उडेको करिब १० मिनेटपछि विस्फोट भएको थियो।

स्पेसएक्स अहिले नौौं उडानका लागि तयारीमा जुटेको छ। सुपर हेभी र शिप दुवैको इन्जिन परीक्षण गरिसकेको छ। तर अहिलेसम्म प्रक्षेपणको मिति घोषणा गरिएको छैन।
sa

प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया