अमेरिकामा रोबोट्याक्सी सेवा विस्तार गर्न अमेजनको जूक्सले उत्पादन बढाउँदै

Technology Khabar २५ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

अमेजनको स्वामित्वमा रहेको स्वचालित सवारी स्टार्टअप जूक्सले अमेरिकामा आफ्नो रोबोट्याक्सी सेवा विस्तार गर्ने योजनाअनुसार अर्को वर्षदेखि उत्पादन बढाउने तयारी गरेको छ। यो जानकारी फाइनान्सियल टाइम्सले बुधबार दिएको हो।

कम्पनीले फ्रेमोन्टमा रहेको सानो उत्पादन केन्द्र बाहिर आफ्नो उपस्थिति विस्तार गर्न क्यालिफोर्नियाको बे एरियामा नयाँ साइट खोल्ने जूक्सका सहसंस्थापक जेसी लेभिनसनले अखबारलाई बताएका छन्।

उनका अनुसार, जूक्सले हालसम्म अमेरिका भरिका ६ वटा शहरमा झण्डै दुई दर्जन विशेष परीक्षण सवारीहरू परिचालन गरिसकेको छ र नयाँ साइटको प्रयोग फ्लीट विस्तार गर्न गरिने रोयटर्सले उल्लेख गरेको छ।

फाइनान्सियल टाइम्सको भनाइअनुसार कम्पनीले यसै वर्ष लस भेगसमा सार्वजनिक सवारी सेवा सुरु गर्ने योजना बनाएको छ, जुन पछि सान फ्रान्सिस्कोमा पनि विस्तार गरिनेछ। नयाँ साइटबाट जूक्सले “सयौँदेखि हजारौँसम्म” आफ्नै डिजाइनमा बनेका रोबोट्याक्सीहरू उत्पादन गर्न तयार हुने बताइएको छ।

जूक्स र अमेजन दुवै कम्पनीले प्रतिक्रिया अनुरोधमा तत्काल जवाफ दिएका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत महिना केही सुरक्षा मापदण्डहरूबाट छुट दिई स्वचालित सवारी साधनहरूको तिव्र विस्तारलाई सहज बनाउने र सुरक्षा घटनाहरूको रिपोर्टिङ सम्बन्धी नियमहरूलाई सरल बनाउने योजना सार्वजनिक गरेको थियो।

टेस्ला र गुगल स्वामित्वको वेमोजस्ता सवारी निर्माता कम्पनीहरूले पनि रोबोट्याक्सी बजारका लागि स्वतःचलित सवारी विकास गरिरहेका छन्। यसअघि अमेरिकी सवारी नियामक निकायहरूले जीएम स्वामित्वको क्रुज, वेमो र जूक्सद्वारा सञ्चालित स्वचालित सवारीहरूमाथि अनुसन्धान थालेका थिए।

प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया