अष्ट्रेलियाको कम्पनीले बनायो ब्याट्रीबाट चल्ने पानीजहाज, ब्याट्रीको तौल मात्रै २५० टनभन्दा बढी

  • Technology Khabar | २० बैशाख २०८२, शनिबार
अष्ट्रेलियाको कम्पनीले बनायो ब्याट्रीबाट चल्ने पानीजहाज, ब्याट्रीको तौल मात्रै २५० टनभन्दा बढी

काठमाडौं ।

अष्ट्रेलियाको तस्मानिया राज्यमा रहेको एक जलपोत निर्माण कम्पनीले विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट चल्ने पानीजहाज निर्माण गरी सार्वजनिक गरेको छ।

यो जहाज दक्षिण अमेरिकाको एक फेरी सेवा दिने कम्पनीका लागि बनाइएको हो। करिब १३० मिटर लामो यो जहाजमा २५० टनभन्दा बढी ब्याट्री राखिएको छ।

जहाजको नाम ‘हल ०९६’ राखिएको छ र यो तस्मानियाको होबार्ट सहरमा रहेको इनक्याट नामक कम्पनीको कारखानाबाट बनाइएको हो।

यस जहाजमा दुई हजार १०० जना यात्रु र २२५ ओटा सवारी साधन अटाउने क्षमता छ। कम्पनीका अध्यक्ष रोबर्ट क्लिफोर्डले यसलाई कम्पनीको इतिहासकै सबैभन्दा ठूलो र महत्वपुर्ण काम बताए।

उनले भने, “हामीले तस्मानियामा लामो समयदेखि उत्कृष्ट जहाजहरू बनाउँदै आएका छौं, तर यो अहिलेसम्मकै सबैभन्दा ठूलो र चुनौतीपूर्ण योजना हो।”

यस जहाजमा हालसम्म कुनै पनि पानीजहाजमा प्रयोग नभएको जति ठूलो ऊर्जा भण्डारण प्रणाली जडान गरिएको छ।

त्यो प्रणाली आठ ओटा बिजुलीबाट चल्ने पानी फाल्ने यन्त्रसँग जोडिएको छ जसले जहाजलाई अगाडि बढाउँछ।

कम्पनीका प्रमुख स्टिफन केसीले भने, “यसले देखाउँछ कि कम प्रदूषण गर्ने यातायातका उपाय अहिले नै प्रयोग गर्न सकिने अवस्थामा छन्।”

यो जहाजलाई परीक्षणका लागि केही महिनापछि समुद्रमा चलाइनेछ। रासस/सिन्ह्वा

प्रकाशित: २० बैशाख २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...