Technology Khabar २० बैशाख २०८२, शनिबार
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) अब केवल स्टार्टअप संसारमा मात्र सीमित रहेन। क्रेडिट कार्ड क्षेत्रका ठूला कम्पनीहरू भिसा र मास्टरकार्ड पनि एआई प्रतिस्पर्धामा होमिएका छन्। भिसाले बुधबार “इन्टेलिजेन्ट कमर्श” घोषणा गर्दै एआई मार्फत “फेला पार्न र खरिद गर्न सक्ने” क्षमताको विकास गरेको जानकारी दिएको छ।
यस अन्तर्गत एआई एजेन्टहरूले उपभोक्ताको पहिल्यै तोकिएको प्राथमिकताको आधारमा किनमेल गर्न र सामान किन्न सक्नेछन्। भिसाका प्रमुख उत्पादन तथा रणनीति अधिकारी ज्याक फोरेस्टेलले एक विज्ञप्तिमा भने, “प्रत्येक उपभोक्ताले सीमा निर्धारण गर्छ, र बाँकी कुराहरू भिसाले व्यवस्थापन गर्छ।”
भिसाका अनुसार उसले प्रविधि क्षेत्रका ठूला कम्पनीहरू र स्टार्टअपहरूसँग सहकार्य गर्दै व्यक्तिगत, सुरक्षित र सहज एआई किनमेल अनुभव विकास गरिरहेको छ। ती कम्पनीहरूमा एन्थ्रोपिक, आईबीएम, माइक्रोसफ्ट, मिस्ट्रल एआई, पर्प्लेक्सिटी, सामसङ र स्ट्राइपलगायत रहेका छन्।
यो घोषणा मास्टरकार्डले मंगलबार गरेको उक्त घोषणा पछि आएको हो, जसमा कम्पनीले एआई एजेन्टलाई उपभोक्ताको तर्फबाट अनलाइन किनमेल गर्न सक्ने बनाउने जनाएको टेकक्रञ्चले उल्लेख गरेको छ।
मास्टरकार्डका अनुसार यसको नयाँ एजेण्ट पे सेवाले “जेनेरेटिभ एआईका संवादहरूलाई भुक्तानी प्रणालीसँग जोडेर व्यक्तिहरू र व्यवसायहरूका लागि अझ उपयोगी बनाउनेछ।”
एक उदाहरण दिँदै मास्टरकार्डले भन्यो, “३० औं जन्मदिन मनाउने तयारीमा रहेकी एक युवतीले एआई एजेन्टसँग कुराकानी गरेर आफ्नै शैली, कार्यक्रमस्थलको वातावरण, र मौसम पूर्वानुमानअनुसार स्थानीय बुटिक तथा अनलाइन स्टोरहरूबाट लुगा र सामानको छनोट गराउन सक्छिन्। त्यसपछि त्यो एआई एजेन्टले खरिद पनि गर्न सक्छ र मास्टरकार्ड वन क्रेडेन्सियल प्रयोग गर्नेजस्ता उपयुक्त भुक्तानी विकल्पको सिफारिस पनि गर्न सक्छ।”
मास्टरकार्डले माइक्रोसफ्टसँग मिलेर “एजेन्टिक कमर्स” लाई नयाँ प्रयोगका माध्यमबाट विस्तार गर्ने र आईबीएम, ब्रेनट्री तथा चेकआउट डटकमसँग अन्य एआई-सक्षम किनमेलका पक्षमा सहकार्य गर्ने जनाएको छ।
एआई-सक्षम किनमेल सेवा ल्याउनेहरूमा भिसा र मास्टरकार्ड मात्र भने छैनन्। मंगलबार पेपलले पनि आफ्नो एजेन्टिक कमर्स सेवा सार्वजनिक गरेको थियो।
यसै महिनाको सुरुमा अमेजनले “बाइ फर मी” नामक एआई किनमेल एजेन्टको परीक्षण केही प्रयोगकर्तामाझ सुरु गरेको घोषणा गर्यो। ओपनएआई, गुगल र पर्प्लेक्सिटीजस्ता कम्पनीहरूले पनि वेबसाइट भ्रमण गरी प्रयोगकर्तालाई खरिद गर्न सहयोग गर्ने एजेन्टहरू प्रदर्शन गरिसकेका छन्।
सोमबार ओपनएआईले आफ्नो च्याटजीपीटीमा रहेको वेब सर्च टुल अद्यावधिक गर्दै अनलाइन किनमेल अनुभवलाई अझ प्रभावकारी बनाउने जानकारी दिएको थियो।
प्रकाशित: २० बैशाख २०८२, शनिबार