Technology Khabar १७ बैशाख २०८२, बुधबार
काठमाडौं ।
सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमा सवारी लाइसेन्सको अवधि पाँच वर्षबाट १० वर्षसम्म हुने व्यवस्था गरेको हो।
हाल, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, सवारी लाइसेन्सको अवधि पाँच वर्ष राखिएको छ, तर अबको संशोधनले यस अवधिलाई १० वर्षसम्मका लागि बनाएको हो।
प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ, जसका अनुसार, चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म वैध रहने उल्लेख थियो। तर, अब दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई ‘दश वर्षसम्म’ भन्ने शब्दले बदलिएको छ।
यसका साथै अब गाडी र लाइसेन्स लगायतका सबै बिबरणहरु विद्युतीय अभिलेख प्रणालीमा बायोमेट्रिक्ससहित राख्नुपर्ने व्यवस्था समेत रहेको छ।
संसोधनअनुसार- “विद्युतीय अभिलेख प्रणालीमा प्रविष्टि गर्नु पर्नेः (१) यस ऐन र प्रदेश कानून बमोजिम दर्ता हुने सवारीको विवरण, चालक अनुमतिपत्रको विवरण, सवारी चालक अनुमतिपत्र सम्बन्धित राजश्व कार्यालयमा भएका विवरण लगायतका अन्य वैयक्तिक तथा जैविक (बायोमेट्रिक्स) सहितको एकीकृत विवरण प्राप्त हुने गरी विभागले सूचना प्रविधिमा आधारित यातायात सेवाको विद्युतीय अभिलेख प्रणाली निर्माण गर्नेछ ।”
यसैगरी उपदफा (१) बमोजिमको विद्युतीय अभिलेख प्रणालीमा विभागले तोकेको ढाँचामा त्यस्तो निकायले विवरण प्रविष्टि गर्नु पर्ने उल्लेख छ।
प्रतिनिधि सभाको अनलाइन तथ्यांकअनुसार सो विधेयक तत्कालिन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले २०८० बैशाख २६ गते दर्ता गरेका थिए।
यसलाई दफाबार छलफलका लागि २९ भदौ २०८० मा विषयगत समितिमा पठाइएको थियो र समितिबाट पास भएर १४ वैशाख २०८१ मा सभामा पठाइएको विधेयकलाई मंगलबार प्रतिनिधि सभाले पारित गरेको हो।
अब यो विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट समेत पारित भएपछि प्रकृयागतरुपमा राष्ट्रपतिकहाँ प्रमाणीकरणको प्रक्रियामा जानेछ।
प्रकाशित: १७ बैशाख २०८२, बुधबार