Technology Khabar १७ बैशाख २०८२, बुधबार
काठमाडौं ।
आईफोनले सन् २०२७ मा आफ्नो २० औं वार्षिकोत्सव मनाउनेछ र यसको लागि एप्पलसँग ठूला योजनाहरू रहेको जस्तो देखिन्छ।
पहिलो आईफोन सन् २००७ को जनवरी ९ तारिखमा सान फ्रान्सिस्कोमा भएको म्याकवल्र्ड सम्मेलनमा प्रस्तुत गरिएको थियो र सोही वर्षको जुन २९ तारिखमा संयुक्त राज्य अमेरिकामा बिक्रीको लागि राखिएको थियो।
२० औं वार्षिकोत्सवको आईफोनले अहिलेसम्मकै सबैभन्दा र्याडिकल रिडिजाइन (पुनः डिजाइन) ल्याउन सक्ने बताइएको छ। उक्त डिभाइसाको अगाडिको भाग क्यामरा, सेन्सर र यस्तै अन्य चीजहरूको लागि कुनै देखिने कटआउटहरू बिना पूर्ण रूपमा स्क्रिनले ढाकिएको हुनेछ भनि केही विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
एप्पलले कथित रूपमा आईफोनको दुई दशक मनाउन ग्लास डिजाइनमा जोड दिँदै एक विशेष प्रो मोडेल विकास गरिरहेको छ भन्ने ब्लूमबर्ग रिपोर्टसँग हालको यो अनुमानले मेल खाएको बताइएको छ।
यो लामो समयदेखि प्रतिक्षा गरिएको फोल्डेबल आईफोनको साथ पनि आउन सक्छ, तर यो डिभाइसको पहिलो वा दोस्रो संस्करण हुनेछ भन्ने कुरा स्पष्ट छैन भनि उल्लेख गरिएको छ।
हालको जानकारी अनुसार, फोल्डेबल आईफोन सन् २०२६ को पूर्वाद्र्धमा नै प्रस्तुत गर्न सकिने सम्भावन रहेको बताइएको छ। चाखलाग्दो कुरा के छ भने, एप्पल अझै पनि एक मात्र प्रमुख स्मार्टफोन निर्माता हो जसको आफ्नै फोल्डेबल मोडेल छैन।
विशेष गरी हालका महिनाहरूमा बिक्री सुस्त भएकोले यो ठूलो वार्षिकोत्सवले आईफोनमा रुचि पुनर्जीवित गर्न पनि मद्दत गर्न सक्छ भनि उल्लेख गरिएको छ।
चीनमा धेरैजसो आईफोनका कम्पोनेन्ट (पार्टपुर्जा) हरू उत्पादन गर्ने गरिन्छ। तर डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट आउने उत्पादनहरूमा १२५ प्रतिशत ट्यारिफ लगाएको हुनाले कम्पनीको अतिरिक्त चुनौती थपिएको छ।
एप्पलले आफ्नो वार्षिकोत्सव मोडेललाई के भन्नेछ भन्ने कुरा अझै अज्ञात रहेको छ। नियमित तालिका अनुसार, आईफोन १९ सन् २०२७ मा देखा पर्नेछ।
तर एप्पलले पहिले नै विगतमा महत्त्वपूर्ण क्षणहरूको लागि नाम परिवर्तन गरिसकेको उदाहरण पाउन सकिन्छ। जस्तै सन् २०१७ मा यसले आईफोन ९ स्किप गरेको थियो र यसको १० औं वार्षिकोत्सवको लागि आईफोन एक्स लन्च गरेको थियो।
नयाँ आईफोन डिजाइनको लागि लामो प्रतीक्षा एप्पलको लागि “दुई धारे तरवार” सावित हुन सक्छ भनि फोरेस्टरका उपाध्यक्ष र प्रमुख विश्लेषक दीपञ्जन चटर्जीले चेतावनी दिएका छन्।
“वार्षिकोत्सव मोडेलको लागि एक बोल्ड रिडिजाइन राम्रो सुनिन्छ, तर यो याद राख्नु पर्छ कि यो अझै दुई वर्ष टाढा छ, र यसै बीचमा एप्पलले प्रयोगकर्ताहरूलाई नयाँ मोडेलहरू किन्न उत्प्रेरित गर्ने र यसरी आईफोन बिक्रीमा गिरावट रोक्ने प्रयास गर्नेछ” उनले उल्लेख गरेका छन्।
एप्पलको नयाँ इन्टेलिजेन्स सुविधाले पुराना आईफोनका मालिकहरूलाई नयाँ मोडेलहरूमा स्तरोन्नति गर्न उल्लेखनीय रूपमा प्रेरित गरेको छैन भनि चटर्जीले जोड दिए।
“धेरैले पर्खन रुचाउँछन्, त्यसैले सन् २०२७ मोडेलको लागि उच्च अपेक्षाहरूले नयाँ डिभाइसहरूको खरिदलाई अझ सुस्त पार्न सक्छ” उनले जोड दिए।
केही प्रयोगकर्ताहरूले अहिले सस्तो आईफोन १६ई किन्न सक्छन् र त्यसपछि उनीहरूले वास्तवमै चाहेको महँगो मोडेल किन्न केही वर्ष पर्खन सक्छन् भनि चटर्जीले अर्को समस्याको बारेमा पनि चेतावनी दिएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १७ बैशाख २०८२, बुधबार