Technology Khabar १६ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
सन् २०२५ को पहिलो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा ५ प्रतिशत वृद्धि भएको छ। जनवरी–मार्च अवधिमा चिनमा कुल ७०.९ मिलियन स्मार्टफोनहरू ढुवानी गरिएको र त्यसमा शाओमीका साथै ह्वावे अग्र स्थानमा रहेको क्यानालिसले उल्लेख गरेको छ। शाओमीले ढुवानी संख्यामा प्रभावशाली ४० प्रतिशत वार्षिक वृद्धि देखेको र अब बजारको १९ प्रतिशत नियन्त्रण गरेको बताइएको छ। ब्रान्डले आफ्नो इकोसिस्टम प्रोडक्टहरू बीचको तालमेलमा विस्तार गरेको बताइएको छ भने चीनको राष्ट्रव्यापी डिभाइस अनुदान कार्यक्रमद्वारा पनि मन पराइएको उल्लेख गरिएको छ।
चीनको डिभाइस अनुदान कार्यक्रम सन् २०२५ को जनवरी ८ तारिखमा लागू भएको थियो। अनुदानले डिभाइस (उपकरण) को खुद्रा मूल्यको १५ प्रतिशत सम्म कभर गर्ने एक पटकको छुट प्रदान गर्दछ। त्यसैगरी कार्यक्रमले ६,००० चिनियाँ युआन (८२० अमेरिकी डलर) भन्दा कम मूल्यका स्मार्टफोन, ट्याब्लेट, स्मार्ट ब्यान्ड र स्मार्टवाचहरू समेट्ने बताइएको छ र प्रति उत्पादन ५०० चिनियाँ युआन (६८ अमेरिकी डलर) मा सीमित गरिएको उल्लेख छ। फ्ल्यागशिप र फोल्डेबल स्मार्टफोनहरू सहित प्रिमियम मोडेलहरू कार्यक्रममा समावेश नगरिएको बताइएको छ।
ह्वावे चीनमा दोस्रो अग्रणी ब्रान्ड बन्न सफल भएको छ जसको बजार हिस्सा १८ प्रतिशत र डिभाइस (उपकरण) ढुवानीमा वार्षिक १२ प्रतिशत वृद्धि भएको बताइएको छ। ब्रान्डले आफ्ना स्मार्टफोनहरूको लागि निरन्तर माग देखेको उल्लेख गरिएको छ। फोल्डेबल मेट एक्सटी र पुरा एक्सले पनि ब्रान्डको लागि चर्चा सिर्जना गरेको बताइएको छ। त्यसैगरी हार्मोनीओएस नेक्स्ट पनि विस्तार भइरहेको बताइएको छ, जुन अब चीनका सबै स्मार्टफोनहरूको ३ प्रतिशत ओगटेको उल्लेख गरिएको छ।
ओप्पो र भिभो प्रत्येकले चिनियाँ बजारको १५ प्रतिशत ओगटेका छन् भने एप्पल १३ प्रतिशत बजार हिस्साका साथ शीर्ष पाँचमा स्थानमा रहेको बताइएको छ। डीपसिक र एआई उपयोगिताहरूको बढ्दो सूचीले पनि उपभोक्ताहरूको ध्यान तानेको बताइएको छ र सबै ढुवानी गरिएका फोनहरूको अनुमानित २२ प्रतिशत अब एआई–सक्षम भएको उल्लखे गरिएको छ। क्यानालिसले वर्षको अन्त्यसम्ममा यो संख्या ४० प्रतिशत पुग्ने अनुमान गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ बैशाख २०८२, मंगलवार