एसके टेलिकमको शेयरमूल्य अगस्टयता सबैभन्दा तल्लो बिन्दुमा

  • Technology Khabar | १६ बैशाख २०८२, मंगलवार
एसके टेलिकमको शेयरमूल्य अगस्टयता सबैभन्दा तल्लो बिन्दुमा

काठमाडौं ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एसके टेलिकमको शेयर सोमबार ८.५ प्रतिशतसम्म घटेर गत वर्षको अगस्टयता सबैभन्दा तल्लो स्तरमा पुगेको छ। कम्पनीले यस महिनाको सुरुमा साइबर आक्रमणका कारण ग्राहक डाटा चुहिएको खुलासा गरेपछि यस्तो गिरावट आएको हो।

कम्पनीले एक विज्ञप्तिमा घटनाको पूर्ण जिम्मेवारी लिने जनाएको छ। कम्पनीले अप्रिल १८ मा उक्त डाटा चुहावट पत्ता लागेको बताएको छ। यो घटनालाई मालवेयरका कारण भएको ठूलाे स्तरको डाटा चुहावटको रूपमा वर्णन गरिएको भए पनि थप विवरण नदिइएको रोयटर्सले उल्लेख गरेको छ।

एसके टेलिकमले साइबर सुरक्षामा आएको समस्यालाई ध्यानमा राख्दै, देशभरिका २६०० भन्दा बढी खुद्रा स्टोरमार्फत आफ्ना २३ मिलियन सबै ग्राहकलाई निःशुल्क यूसिम (युएसआईएम) कार्ड बदल्ने सुविधा दिने बताएको छ।

कम्पनीले ग्राहकहरूलाई आफ्नो युएसआईएम प्रोटेक्सन सेवा लिन आग्रह गरेको छ, जसले युएसआईएम कार्ड बदल्दा जस्तै स्तरको सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आइतबारसम्म करिब ५.५४ मिलियन ग्राहकले यो सेवा लिइसकेका छन्, जुन कुल २३ मिलियन ग्राहकमध्ये करिब एक चौथाइ हो।
एसके टेलिकमको शेयर सोमबार ६.७ परतिशत घटेर बन्द भएको छ, जुन मार्च २०२० यता एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो। यसैबीच, दक्षिण कोरियाको बेंचमार्क कोस्पी भने ०.१ प्रतिशत ले बढेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार