
काठमाडौं ।
गत वर्ष अदालतले इन्टरनेट सर्च (खोज) मा गुगलको एकाधिकार रहेको वा धेरै नियन्त्रण गर्छ भनी फैसला गरेपछि कम्पनीमाथि अनुसन्धान भइरहेको छ। साथै यस कम्पनीको धेरै डिजिटल सेवाहरूको भविष्य के हुनेछ भन्ने कुरामा अझै स्पष्टता उपलब्ध नभएको बताइएको छ।
गत महिना, गुगललाई यसको क्रोम ब्राउजर बेच्न बाध्य पार्न सकिन्छ भनि न्याय विभागले सुझाव दिएको थियो। यदि टेक जायन्टले साँच्चै नै बिक्री गर्ने निर्णय गरेको खण्डमा भने, पहिले नै कम्तिमा एक इच्छुक खरीददार तयार भइसकेको उल्लेख गरिएको छ।
च्याटजीपीटीका प्रमुख निक टार्लीले आज एकाधिकार अवस्थाको बारेमा सुनुवाइको क्रममा बोलेको र ओपनएआईले क्रोम प्राप्त गर्न इच्छुक छ कि भनेर सोधिएको ब्लूमबर्गले रिपोर्ट गरेको छ।
जवाफमा टार्लीले “हो, हामी इच्छुक हुनेछौं –अन्य धेरै जस्तै” भनि उत्तर दिएको बताइएको छ।
हाल, प्रयोगकर्ताहरूले क्रोम एक्सटेन्सन मार्फत च्याटजीपीटीको एआई एसिस्टेण्ट प्रयोग गर्न सक्छन्। तर यदि ओपनएआईले ब्राउजरको स्वामित्वमा प्राप्त गरेको खण्डमा भने धेरै गहिरो एकीकरण हुन सक्छ भनि टार्लीले बताएका छन्। ओपनएआईको काल्पनिक स्वामित्व अन्तर्गत, क्रोमले प्रयोगकर्ताहरूलाई सुरुदेखि नै कृत्रिम बुद्धिमत्तामा निर्मित नयाँ अनुभव प्रदान गर्न सक्ने उल्लेख गरिएको छ।
क्रोम मात्र गुगलले गुमाउन सक्ने एक मात्र सेवा नभएको बताइएको छ। यस महिनाको सुरुमा अर्का न्यायाधीशले गुगलले अनलाइन विज्ञापनको क्षेत्रमा एकाधिकारपूर्ण काम गरेको निष्कर्ष निकालेका छन्।
कुनै पनि प्रमुख प्राविधिक कम्पनीले गुगलले वर्षौंदेखि विकास गरेको धेरै लोकप्रिय सेवाहरू मध्ये एउटा प्राप्त गर्न इच्छुक हुनु कुनै अचम्मको कुरा नभएको बताइएको छ। बरु यदि प्राप्त गरेको खण्डमा भने, कुन नयाँ कम्पनीले एकाधिकार सिर्जना गर्न सक्छ भन्ने ठूलो प्रश्न उत्पन्न भएको उल्लेख गरिएको छ।
अहिलेको लागि, न्याय विभागले कम्पनी विभाजन गर्ने बारेमा छलफल भएता पनि, गुगललाई कृत्रिम बुद्धिमत्तामा लगानी जारी राख्न अनुमति दिइरहेको छ। तर क्रोम ब्राउजरको स्वामित्व ओपनएआईमा हस्तान्तरण गर्दा नयाँ चिन्ताहरू बढ्न सक्ने उल्लेख गरिएका छन्।
कानूनी प्रक्रियाहरूमा प्रायः समय लाग्ने भएकोले, गुगल विरुद्धको हालैको फैसलाको अन्तिम नतिजा थाहा पाउन केही समय लाग्न सक्ने टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ बैशाख २०८२, बिहीबार