अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार युद्ध भड्काउने अभिव्यक्तिले पोनी डटको समुद्रपार योजनामा असर

  • Technology Khabar | ११ बैशाख २०८२, बिहीबार
अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार युद्ध भड्काउने अभिव्यक्तिले पोनी डटको समुद्रपार योजनामा असर
फाइल तस्बिर

काठमाडौं ।

चीनस्थित रोबोट्याक्सी निर्माता पोनी डट एआईले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसँगको व्यापार युद्धले अन्तर्राष्ट्रिय विस्तार योजनामा असर पार्न सक्ने तर यसको आपूर्ति श्रृङ्खलामा भने धेरै ठूलो प्रत्यक्ष प्रभाव नपर्ने अपेक्षा गरिएको बताएको छ।

टोयोटाले लगानी गरेको यो कम्पनीले गत नोभेम्बरमा नासड्याकमा सूचीकरण गरेर २६ करोड डलर उठाएपछि दक्षिण कोरिया, लक्जेम्बर्ग, मध्यपूर्व र अन्य देशहरूमा आफ्नो स्वचालित सवारी सञ्चालन व्यवसाय विस्तार गर्ने प्रयास गरिरहेको छ।

रोयटर्सका अनुसार ट्रम्पले सबै अमेरिकी आयातमा १० प्रतिशत भन्सार र चिनियाँ सामानमा १४५ प्रतिशतसम्मको उच्च दरमा कर लगाउने निर्णय गरेपछि बजारहरूमा अशान्ति आएको छ र कम्पनीहरूलाई आफ्ना योजना पुनः मूल्याङ्कन गर्न बाध्य बनाएको छ। तर बिहीबार ट्रम्प प्रशासनले चीनसँगको व्यापार युद्ध कम गर्ने सम्भावनाको संकेत दिएको छ।

भन्सारका बारेमा सोध्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेम्स पेंगले शाङ्घाई अटो शोको क्रममा भने, “हामीले प्रत्यक्ष असरको अपेक्षा गरेका छैनौं।”

“आपूर्ति पक्षमा हामी सधैं विकल्प र ब्याकअप राख्ने प्रयास गर्छौं,” उनले रोयटर्सलाई भने। “तर भावनात्मक रूपमा भने यो कुराले हामीलाई असर गर्छ, विशेषगरी अन्तर्राष्ट्रिय विस्तारको योजनामा।”

कम्पनीले एनभिडियाको स्वचालित सवारीका लागि बनाइएको ओरिन-एक्स चिप प्रयोग गरिरहेको छ र आगामी दिनमा चीनमा प्रतिबन्ध नलाग्ने ड्राइभ थोर चिप प्रयोग गर्ने सम्भावना रहेको पेंगले बताए।

“त्यस्ता चिपमा प्रतिबन्ध लाग्ने कुरा कल्पना गर्न गाह्रो छ। वैकल्पिक रूपमा हामीसँग चिनियाँ घरेलु चिप निर्माताहरूबाट पनि केही ब्याकअप आपूर्तिकर्ता छन्,” उनले भने।

सन् २०१६ मा सिलिकन भ्यालीमा स्थापना भएको पोनी डट एआईका अनुसन्धान केन्द्रहरू चीन, अमेरिका र लक्जेम्बर्गमा छन्।

कम्पनीले हङकङमा दोस्रो सूचीकरणको सम्भावना खुला राखेको भए पनि हाल भने आफ्नो सातौं पुस्ताको सवारी उत्पादन सुरु गर्नेमा ध्यान केन्द्रित गरिरहेको पेंगले बताए। पोनी डट एआईसँग अहिले बेइजिङ, शाङ्घाई, ग्वाङ्जाउ र शेन्जेन शहरहरूमा रोबोट्याक्सी सेवा सञ्चालनको अनुमति छ र हङकङमा पनि सेवा सुरु गर्ने योजना बनाइरहेको छ।

“हाल सबै उत्पादन लाइनलाई ठूलो परिमाणमा सवारी उत्पादन गर्न मिल्ने गरी परिमार्जन गरिएको छ। हाम्रो लक्ष्य यस वर्ष करिब १,००० सवारी उत्पादन गर्ने हो,” उनले भने।

“अर्का केही वर्षमा हामी उत्पादन र सेवाको दायरा तीव्र रूपमा विस्तार गर्दै जान्छौं, एक पटक सबै उपकरण तयारी भइसकेपछि। अहिले कुरो मागको हो। हामी चाँडै दशौं हजार सवारीभन्दा बढी उत्पादनमा जानेछौं।”

प्रकाशित: ११ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार