
काठमाडौं ।
टेस्लाको विक्री घटेपछि कम्पनीले विगतका वर्षहरूमा भन्दा बढी घाटाको नजिक पुगेको वित्तीय विवरणबाट खुलेको छ।
मंगलबार सार्वजनिक नतिजाअनुसार कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा लगभग ३ लाख ३७ हजार विद्युतीय सवारीसाधन (ईभी) बिक्री गर्दै १९.३ अर्ब डलर आम्दानीमा ४०९ मिलियन डलर खुद आम्दानी कमाएको छ। यो लाभ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले घटेको हो।
टेकक्रञ्चका अनुसार यो पछिल्लो दुई वर्षभन्दा बढी समयको सबैभन्दा कमजोर त्रैमासिक डेलिभरी हो, र यो पहिलो पटक कम्पनीले वर्षको तुलनामा बिक्री घटेको रिपोर्ट गरेको हो।
कम्पनीको आय ५९५ मिलियन डलर शून्य उत्सर्जन कर क्रेडिट बिक्रीबाट आएको थियो। यदि त्यो आम्दानी नभएको भए, कम्पनी घाटामा जान्थ्यो।
तर कमाईको रिपोर्टपछि टेस्लाको सेयर मूल्य बढेको थियो।
लगानीकर्ताहरूले सस्तो मूल्यको नयाँ ईभी उत्पादन जूनदेखि सुरु गर्ने योजना र सीईओ ईलन मस्कले डजीमा आफ्नो संलग्नता घटाउने भन्दै टेस्लामा बढी ध्यान केन्द्रित गर्ने भनाइलाई प्राथमिकता दिएका छन्।
तर मस्कले डजीबाट पूर्ण रूपमा हट्ने भने बताएका छैनन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बाँकी अवधिसम्म केही भूमिका खेल्न सक्ने बताएका छन्।
टेस्लाले लगानीकर्ताहरूलाई व्यापार युद्धले भविष्यमा व्यवसायमा असर पार्न सक्ने चेतावनी पनि दिएको छ। कम्पनीका अनुसार, राष्ट्रपति ट्रम्पले लगाएको शुल्क र “परिवर्तित राजनीतिक धारणा” ले उत्पादनको मागमा ठूला असर पार्न सक्छ। चीनमा लक्षित शुल्कहरूबाट कम्पनीको ऊर्जा व्यवसायमा सबैभन्दा बढी असर पर्ने बताइएको छ।
कम्पनीले व्यवसायलाई दीर्घकालीन रूपमा स्थिर बनाउने र बिक्री बढाउन प्रयास गर्ने भने पनि यस वर्ष बिक्री वृद्धि गर्न सकिने वा नसकिने भन्ने कुरामा स्पष्ट आश्वासन दिन सकेको छैन।
टेस्लाले सस्तो मूल्यका मोडेलहरू ल्याउने रहस्यमय योजना दोहोर्याउँदै सन् २०२५ को पहिलो छ महिनाभित्रै उत्पादन सुरु हुने बताएको छ। मस्कले अर्निङ कलमा स्पष्ट रूपमा यसको उत्पादन जून महिनामा सुरु हुने बताएका छन्।
यी सवारीहरू रोबोट्याक्सीको लागि बनाइएको नेक्स्ट-जेन प्लेटफर्मको केही हिस्सा प्रयोग गर्नेछन्, तर हालको मोडल वाई र मोडल ३ को प्लेटफर्ममै आधारित रहनेछन्।
यसैले यी सस्ता मोडेलहरू पनि अहिलेका मोडेलहरू निर्माण भइरहेका लाइनहरूमा नै उत्पादन हुने बताइएको छ।
प्रकाशित: ११ बैशाख २०८२, बिहीबार