प्रतिस्पर्धी फूड डेलिभरी प्लेटफर्महरूले काम नगर्न दबाब दिएको चिनियाँ इ-कमर्स जेडी डटकमको आरोप

  • Technology Khabar | ९ बैशाख २०८२, मंगलवार
प्रतिस्पर्धी फूड डेलिभरी प्लेटफर्महरूले काम नगर्न दबाब दिएको चिनियाँ इ-कमर्स जेडी डटकमको आरोप

काठमाडौं ।

चिनियाँ इ-कमर्स कम्पनी जेडी डटकमले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै खाना डेलिभरी क्षेत्रमा कार्यरत कुरियरहरूमा प्रतिस्पर्धी प्लेटफर्महरूले दबाब दिएको आरोप लगाएको छ। जेडी टेकअवेसँग काम गर्ने कुरियरहरूलाई अरू प्लेटफर्महरूले काम नगर्न दबाब दिएको कम्पनीको दावी छ।

जेडी टेकअवेले फेब्रुअरीदेखि रेस्टुरेन्टहरूलाई “पूरा वर्ष कुनै कमीशन नलाग्ने” प्रस्तावसहित आफ्नो प्लेटफर्ममा ल्याउन सुरु गरेको थियो। चीनको अत्यधिक प्रतिस्पर्धात्मक खाना डेलिभरी बजारमा जेडीको यो प्रवेशले स्थापित कम्पनीहरूको बजार हिस्सा चुनौतीमा पार्न सक्ने अनुमान गरिएको छ, खासगरी यो कम नाफा हुने क्षेत्र भएकाले सस्तो सेवाबाट लाभ उठाउने रणनीति अपनाइएका कम्पनीहरू प्रभावित हुन सक्छन्।

जेडी डटकमले आफ्नो आधिकारिक वेइशिन खातामार्फत पोस्ट गर्दै जेडी टेकअवे सँग जोडिएका कुरियरहरूलाई सम्बोधन गर्दै कुरियरहरूलाई जेडीबाट अर्डर नस्वीकार्न दबाब दिइएको बारेमा कम्पनी जानकार रहेको र उनीहरूलाई प्लेटफर्महरूबीच रोजाइ गर्न बाध्य बनाइएको अवस्थाप्रति सहानुभूति जनाएको भनेको छ।

रोयटर्सका अनुसार जेडी डटकमले आफ्ना प्रतिस्पर्धी प्लेटफर्महरूको नाम भने उल्लेख गरेको छैन। चीनको खाना डेलिभरी बजारमा धेरै समयदेखि मेइतुआन प्रमुख कम्पनीको रूपमा छ भने अलिबाबा स्वामित्वको एले डट एमई दोस्रो ठूलो खेलाडी हो।

जेडीको पोस्टबारे प्रतिक्रिया माग्दा मेइतुआन र एले डट एमई दुवैले तत्काल जवाफ दिएका छैनन्। यद्यपि, मेइतुआनले आफ्नै वेइशिन खातामार्फत एउटा पोस्ट गर्दै आफ्ना एक चालकलाई अन्य प्लेटफर्मबाट अर्डर लिएर मेइतुआन बाट प्रतिबन्धित भएको झुटो दाबी गरेको आरोपमा कारबाही गरिएको जानकारी दिएको छ। मेइतुआनले चालकको दाबीलाई “पूर्ण रूपमा बनावटी” भनेको छ।

उनीहरूको आय स्थिर रहोस् भन्ने उद्देश्यले जेडी डटकमले भने अन्य प्लेटफर्मबाट प्रतिबन्धित कुरियरहरूलाई पर्याप्त अर्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

जेडीले आगामी तीन महिनाभित्र आफ्ना पूर्णकालिक राइडरहरूको भर्ती लक्ष्य ५०,००० बाट बढाएर १ लाख पुर्‍याउने पनि घोषणा गरेको छ।

जेडी टेकअवे चीनको पहिलो यस्तो प्लेटफर्म बनेको छ, जसले आफ्ना पूर्णकालिक राइडरहरूलाई प्रत्यक्ष श्रमिक सम्झौता प्रदान गर्दै आएको छ, जसका आधारमा उनीहरूलाई पूर्ण बीमा सुविधा उपलब्ध हुन्छ।

प्रकाशित: ९ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार