Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
दक्षिण कोरियाको एलजी इनर्जी सोलुसनले इन्डोनेसियामा विद्युतीय सवारी साधनको ब्याट्री निर्माण विकास गर्ने ८.४५ बिलियन अमेरिकी डलर (१४२ ट्रिलियन रुपिया) को परियोजनाबाट औपचारिक रूपमा फिर्ता भएको कम्पनीले सोमबार बताएको छ।
एलजीईएस र इन्डोनेसियाली सरकारले सन् २०२० को उत्तरार्धमा तथाकथित इन्डोनेसिया ग्राण्ड प्याकेज परियोजनामा सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा दक्षिणपूर्वी एसियाली देशमा ईभी ब्याट्री आपूर्ति श्रृंखलामा लगानी समावेश रहेको उल्लेख गरिएको छ।
“बजारको अवस्था र लगानी वातावरण सहित विभिन्न कारकहरूलाई ध्यानमा राख्दै, हामी इन्डोनेसिया जीपी (ग्राण्ड प्याकेज) परियोजनाबाट औपचारिक रूपमा बाहिरिनका लागि सहमत भएका छौं” एलजीईएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
“यद्यपि, हामी इन्डोनेसियाको ब्याट्री संयुक्त उद्यम, एचएलआई ग्रीन पावरलाई केन्द्रित गर्दै इन्डोनेसियाली सरकारसँग सहकार्यका विभिन्न अवसरहरू खोजी गर्न जारी राख्नेछौं” विज्ञप्तिमा थप उल्लेख गरिएको छ।
एलजीईएस र हुन्डाई मोटर समूहको नेतृत्वमा रहेको संयुक्त उद्यम एचएलआई ग्रीन पावरले गत वर्ष १० गिगावाट आवर्सको वार्षिक क्षमता भएको इन्डोनेसियाको पहिलो ब्याट्री सेल उत्पादन प्लान्टको उद्घाटन गरेको थियो। साथै यसको लगानीको दोस्रो चरणमा क्षमता विस्तार गर्ने योजना रहेको उल्लेख गरिएको छ।
“इन्डोनेसियाले देशको धनी निकेल भण्डारको लाभ उठाउँदै ब्याट्री उद्योग विकास गर्न स्थानीय कम्पनीहरूसँग साझेदारी गर्न विदेशी लगानीकर्ताहरू खोज्न जारी राख्नेछ” ऊर्जा मन्त्रालयका अधिकारी ट्राइ विनार्नोले बताए।
“एलजी बाहिरिए पनि, हाम्रो निकेल अन्य देशहरूको भन्दा बढी प्रतिस्पर्धी छ भन्ने कुरामा इन्डोनेसिया विश्वस्त छ” भनि उनले पत्रकारहरूलाई बनाएको उल्लेख गरिएको छ।
निकेलको (खानी) उत्तखनन् गर्न एलजीईएससँग संयुक्त उद्यम गठन गर्ने योजना बनाएको इन्डोनेसियाली राज्य–नियन्त्रित खानी कम्पनी अनिका ताम्बाङले ब्याट्री उत्पादनको लागि निकेल आपूर्ति गर्न अन्य कम्पनीहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएको छ।
एलजीईएस सँग साझेदारी गर्ने योजना बनाएको राज्य फर्म इन्डोनेसिया ब्याट्री कर्पोरेशनले टिप्पणीको लागि गरिएको अनुरोधको जवाफ नदिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ८ बैशाख २०८२, सोमबार