सर्भर नचल्दा सेवाग्राही समस्यामा

Technology Khabar ८ बैशाख २०८२, सोमबार

सर्भर नचल्दा सेवाग्राही समस्यामा
सांकेतिक तस्बिर

काठमाडौं ।

कालीकोट जिल्लाका सरकारी कार्यालयका इन्टरनेटले काम नगर्दा सेवा प्रभावित भएको छ। सरकारी सर्भर नचल्दा सेवाग्राहीको गुनासो बढ्न थालेको हो। जिल्ला प्रशासन कार्यालय कालीकोटमा नागरिक सर्भर नचलेका कारण तीन दिनयता प्रशासनमा सेवाग्राहीको भिड बढेको छ।

शुक्रबारदेखि इन्टरनेटमा समस्या भएकाले विशेषगरी अनलाइन सिफारिस लिने, राहदानी बनाउने र राष्ट्रिय परिचयपत्रका लागि आएका नागरिक समस्यामा परेका हुन्।

रास्कोट नगरपालिका-२ का लोकेन्द्रराज सिम्खडाले आफू बिहीबार कार्यालय पुगेको तर उक्त दिन सर्भर नचलेको मात्र होइन आइतबारसम्मै नचलेको जनाए। काम नभएपछि दुई दिनसम्म अनाहकमा होटेलमा बस्नु परेको उनको भनाइ छ।

राहदानीकै लागि काठमाडौँबाट कालीकोट आएको बताउँदै उनले चार दिनदेखि कर्मचारीले सर्भर डाउन भएको भनिरहेको बताए। सान्नी त्रिवेणी गाउँपालिका-३ का मानबहादुर विश्वकर्माले पनि सर्भर चलेको भन्दै आएको तर राहदानीसमेत प्राप्त गर्न नसकेको जनाए। सिस्टममा यकिन गर्नुपर्ने भएकाले इन्टरनेटका कारणले हेर्न नसक्दा आफ्नो राहदानी प्राप्त नभएको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय कालीकोटमा कार्यरत कम्प्युटर अपरेटर उज्ज्वलबहादुर शाहीले सर्भरका कारण धेरै नागरिकले दुख पाएको बताए। यता नागरिकता फाँटको काम जसोतसो चलिरहेको छ तर राहदानीलगायतका अनलाइन सिफारिसका काम पूरै ठप्प हुँदा नागरिकलाई सास्ती भएको सुनाए।

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया