Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
क्षयरोगी खोज्न बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएको छ। एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौंडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरेर नौ जना क्षयरोगी पत्ता लगाएको छ। थपिएका नयाँ बिरामोसँगै बैतडीमा १०७ जना क्षयरोगो उपचारको दायरामा आएका छन् ।
क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोकेर पुचौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा खटिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए।
उनले भने, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको डिजिटल कम्प्युटर रोबोट हो। यसले मानिसको एक्सरे गरेर सम्भावित क्षयरोग पत्ता लगाउँछ। एआईले खकारबाट नभई एक्सरेबाटै सम्भावित बिरामीको पहिचान गर्छ। सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनालयमा मात्रै छ।”
उनले एआईले सम्भावित क्षयरोगी पत्ता लगाइसकेपछि दोलो चरणमा बिरामीको खकार परीक्षण गरेर बिरामीको निःशुल्क उपचार हुने बताए। क्षयरोगीको खोजपड्तालका लागि एआईको प्रयोग गर्न दक्ष जनशक्तिसहित स्वास्थ्यकर्मीको टोली बैतडी र बझाङका गाउँमा घुमिरहेको प्रदेश स्वास्थ्य निर्देशनायका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले बताए।
उनले यही चैत २४ गते बैतडीको परीक्षण सकेर स्वास्थ्यकर्मीको टोली बझाङ पुगेको बताए। बझाङमा पनि क्षयरोगका बिरामी भएकाले परीक्षणका लागि बझाङको थलारा पुगेको ओझाले बताए। बझाङमा १०५ जना क्षयरोगी नियमित उपचारमा रहेका छन्।
क्षयरोगको औषधी नियमित सेवन गरे निको हुने बताइएको छ। यद्यपि स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरेर १३ जनाको मृत्यु भएको छ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।
क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोलो गाउँमा परिचालन भए पनि मौसमी रोजगारीका लागि भारत गएका कारण परीक्षणको दायरामा आउन नसकेको उनले जनाए। एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई नै सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उनले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ८ बैशाख २०८२, सोमबार