Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलको पहिलो फोल्डेबल आईफोन अर्को वर्ष लन्च हुने अपेक्षा गरिएको छ र हालैको रिपोर्ट अनुसार यसको मूल्य २,१०० अमेरिकी डलरदेखि २,३०० अमेरिकी डलरको बीचमा पर्ने बताइएको छ। यसै क्रममा टिपस्टर युक्स११२२ ले डिभाइसको स्क्रिनको बारेमा थप विवरणहरू नेभरमा विवरणहरू पोस्ट गरेको बताइएको छ।
आईफोन फोल्डमा २,७१३ × १,९२० पिक्सेल रिजोल्युसनको साथ ७.७६ इन्चको मुख्य डिस्प्ले हुने उक्त पोस्टमा उल्लेख गरिएको छ। प्यानलमा अण्डर–डिस्प्ले क्यामरा हुनेछ जुन सामसङले जेड फोल्ड३ को समयदेखि ग्यालेक्सी जेड फोल्ड लाइनअपमा प्रयोग गर्दै आएको छ।
एप्पलको फोल्डेबलको लागि प्राथमिक डिस्प्ले आपूर्तिकर्ता सामसङ हुने हल्ला भएको हुनाले यसमा अचम्म मान्नु नपर्ने उल्लेख गरिएको छ। मुख्य डिस्प्लेमा क्रिज–लेस डिजाइन रहेको बताइएको छ जुन एप्पलको लागि ठूलो प्राथमिकताको कुरा भएको उल्लेख छ।
फोल्डेबल आईफोनले २,०८८ × १,४२२ पिक्सेल रिजोल्युसनको साथ ५.४९ इन्चको कभर स्क्रिन पनि समावेश गर्नेछ। अगाडिको प्यानलमा यसको सेल्फी क्यामराको लागि पञ्च होल कटआउट रहेको बताइएको छ। यी मुख्य स्पेक्सहरूको बारेमा यस हप्ताको सुरुमा टिपस्टर डिजिटल च्याट स्टेशन द्वारा पनि पुष्टि गरिएको थियो।
विश्लेषक मिङ–ची कुओबाट आएका अघिल्ला लीकले आईफोन फोल्डमा फेस आईडी नहुने र यसको सट्टा पावर बटनमा टच आईडी सेन्सर हुने दाबी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार