Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
ओपनएआईले एक्स (पहिले ट्विटर) को जस्तै आफ्नै सोसल नेटवर्क (सामाजिक सञ्जाल) विकास गरिरहेको छ भनि यस विषयमा जानकार स्रोतहरूले खुलासा गरेका छन्। अझै प्रारम्भिक चरणमा रहेको यो परियोजनाको एक आन्तरिक प्रोटोटाइपमा च्याटजीपीटी मार्फत इमेजहरू उत्पन्न गर्न केन्द्रित ‘सोसल फिड’ समावेश रहेको द भर्ज ले रिपोर्ट गरेको छ।
ओपनएआईका सीईओ साम अल्टम्यानले अनौपचारिक रूपमा परियोजनामा कम्पनी बाहिरका मानिसहरूबाट इनपुट खोजिरहेका छन् भनि स्रोतहरूले उल्लेख गरेको छ। यो सामाजिक सञ्जाल स्ट्यान्डअलोन एपको रूपमा लन्च गरिनेछ वा च्याटजीपीटीमा एकीकृत गरिनेछ भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ। साथै च्याटजीपीटी गत महिना संसारमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको थियो।
च्याटजीपीटी भित्र वा यसको सम्बन्धमा सामाजिक सञ्जाल सिर्जना गर्नाले अल्टम्यान र इलन मस्क बीच पहिले नै तनावपूर्ण प्रतिस्पर्धालाई अझ बढाउन सक्ने उल्लेख गरिएको छ।
गत फेब्रुअरीमा, मस्कले ९७.४ बिलियन अमेरिकी डलरमा ओपनएआई किन्न अनौपचारिक प्रस्ताव गरेपछि अल्टम्यानले “होइन, धन्यवाद, तर यदि उनले यसलाई बिक्री गर्छन् भने हामी ९.७४ बिलियन अमेरिकी डलरमा ट्विटर किन्नेछौं” भनेर जवाफ दिएका थिए।
सामाजिक सञ्जाल बजारमा प्रवेश गर्नाले ओपनएआईलाई मेटासँग प्रत्यक्ष द्वन्द्वमा पार्नेछ, जसले आफ्नो नयाँ स्ट्यान्डअलोन एआई एपमा सामाजिक फिड थप्ने योजना बनाइरहेको बताइएको छ।
केही महिना अघि मेटाले प्रतिस्पर्धी च्याटजीपीटी एप विकास गरिरहेको जानकारी प्रसारित हुँदा, अल्टम्यानले एक्सलाई “ठीक छ, सायद हामी यसलाई पनि सामाजिक नेटवर्क बनाउनेछौं” भनेर प्रतिक्रिया दिएका थिए।
यस्तो एप्लिकेसनले ओपनएआईलाई रियल टाइम–डाटामा युनिक (अद्वितीय) र फ्रेस (ताजा) डाटा पहुँच गर्न अनुमति दिनेछ जुन एक्स र मेटाले पहिले नै आफ्नो कृत्रिम बुद्धिमत्ता मोडेलहरूलाई तालिम दिन प्रयोग गर्दछन्।
इलन मस्कको ग्रोक मोडेलले यसको नतिजाहरूमा एक्सबाट सामग्री समावेश गर्दछ (मस्कले हालै एक्स र एक्सएआईलाई एउटै कम्पनीमा मर्ज गरेका छन्) भने मेटाले आफ्नो स्वामित्वमा रहेको ठूलो प्रयोगकर्ता डाटाबेसको साथ आफ्नो एलएलएएमए मोडेललाई तालिम दिइरहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार