चीनले शिक्षामा सुधार ल्याउन एआईमार्फत् पठनपाठन गराउने

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

चीनले शिक्षामा सुधार ल्याउने प्रयास अन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई शिक्षण पद्धति, पाठ्यपुस्तक र विद्यालय पाठ्यक्रममा समावेश गर्ने भएको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक कागजातमा अधिकारीहरूले यस्तो बताएका छन्।

प्राथमिक, माध्यमिक र उच्च शिक्षास्तरमा विद्यार्थी तथा शिक्षक लक्षित यो कदम चीनको अर्थतन्त्रमा नवीनता प्रवर्द्धन गर्ने र नयाँ विकासका स्रोत खोज्ने प्रयासको हिस्सा हो।

शिक्षा मन्त्रालयले भनेको छ, “कृत्रिम बुद्धिमत्ता प्रवर्द्धन गर्दा शिक्षक र विद्यार्थीको आधारभूत क्षमताको विकास हुनेछ” र “नवीन क्षमतासम्पन्न जनशक्तिको मूल प्रतिस्पर्धात्मकता तयार गर्न सहयोग पुर्‍याउनेछ।”

रोयटर्सका अनुसार विद्यार्थीका लागि यस्तो आधारभूत क्षमता भन्नाले आत्मनिर्भर सोच, समस्या समाधान गर्ने सीप, सञ्चार र सहकार्य गर्ने क्षमताहरू हुने मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार, एआई प्रयोगले कक्षा कोठा झनै नवीन र चुनौतीपूर्ण बन्नेछ।

यो प्रयास त्यतिबेला आएको हो जब चिनियाँ विश्वविद्यालयहरूले एआई कोर्ष सुरु गरेका छन् र भर्ना विस्तार गरेका छन्। यसअघि जनवरीमा चिनियाँ स्टार्टअप डीपसिकले तुलनात्मक रूपमा कम लागतमा विकास गर्न सकिने ठूलो भाषा मोडेल सार्वजनिक गर्दै विश्वको ध्यान तानेको थियो।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया