इन्टरनेशनल एमेच्योर रेडियो युनियन सयौं वर्षमा प्रवेश गर्दै: के के छन् यसका योगदान?

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

– टिमोथी एस. एलाम

अध्यक्ष, अन्तर्राष्ट्रिय एमेच्योर रेडियो संघ

१९२५ अप्रिल १८ मा अग्रगामी रेडियो अनुरागीहरू पेरिसमा भेला भएर नयाँ अन्तर्राष्ट्रिय संघको स्थापना गरेका थिए। यस वर्ष अन्तर्राष्ट्रिय रेडियो अनुरागी संघ (इन्टरनेशनल एमेच्योर रेडियो युनियन-आईएआरयू) ले आफ्नो शतवार्षिकी मनाइरहेको छ र प्रविधिमा भइरहेका परिवर्तनहरूसँगै अर्को एक सय वर्षको नवप्रवर्तनको यात्रामा प्रवेश गरेको छ।

सधैंझैं वर्ल्ड एम्याच्योर रेडियो डे का दिन इन्टरनेशनल एमेच्योर रेडियो युनियन (आईएआरयू)का सदस्य संस्थाहरूले, आमजनतासामु आफ्नो क्षमता देखाउन र विश्वभरका अन्य रेडियो अनुरागीहरूसँग मित्रता साटासाट गर्दछन्।

शतवार्षिकीको अवसरमा यस दिनलाई “एम्याच्योर रेडियो सञ्चार र नवप्रवर्तनको अर्को शताब्दीमा प्रवेश” का रुपमा समर्पण गरिएको छ।

पछिल्ला सय वर्षदेखि आईएआरयूले आफ्नो क्षेत्रको नवप्रवर्तन प्रवर्द्धन गर्न र विश्वभरका समुदायहरूमा रेडियो प्रेमीहरूको विकास प्रोत्साहित गर्न निरन्तर प्रयास गरिरहेको छ। सुरुआती दिनहरूदेखि नै संस्थाले रेडियो फ्रिक्वेन्सीहरूलाई रेडियो अनुरागी सेवाहरूको लागि सुरक्षित गर्दै आएको छ र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) सँग समन्वय गर्दै आएको छ।

एमेच्योर रेडियो भन्नाले के बुझिन्छ?

एमेच्योर रेडियो भन्नाले व्यक्तिगत चासो, आत्मविकास, आपसी सञ्चार, र प्राविधिक परीक्षणको लागि गरिने गैर-व्यावसायिक रेडियो सञ्चार सेवालाई बुझिन्छ। यसमा संलग्न व्यक्तिहरूलाई रेडियो अनुरागी  वा ह्याम रेडियो अपरेटरहरू भनिन्छ।

एमेच्योर रेडियो केका लागि प्रयोग गरिन्छ?

आपतकालीन सञ्चार: बाढी, भूकम्प, आँधीजस्ता विपद्‌मा मोबाइल वा अन्य संचार माध्यम बन्द हुँदा रेडियो प्रेमीहरूले सम्पर्क कायम गर्न सहयोग पुर्‍याउँछन्।

व्यक्तिगत अध्ययन र अनुसन्धान: नयाँ प्रविधि, उपकरण र सन्देश प्रेषण प्रविधिको परीक्षण गर्न सकिन्छ।

अन्तर्राष्ट्रिय सम्पर्क र सञ्चार: विश्वभरका रेडियो प्रेमीहरूसँग सम्पर्क गर्दै भाषा, संस्कृति र प्रविधिको आदानप्रदान गर्न सकिन्छ।

शिक्षा र तालिम: रेडियो प्रविधिको ज्ञान बढाउने माध्यमका रूपमा विद्यालय/विश्वविद्यालय स्तरमा प्रयोग गरिन्छ।

स्याटेलाइट सञ्चार: एमेच्योर स्याटेलाइट (जस्तै क्युबस्याट) मार्फत सञ्चार अभ्यास गर्न सकिन्छ।

एमेच्योर रेडियो सेवाका मुख्य विशेषताहरू:

गैर-व्यावसायिक हुनुपर्छ (व्यापारिक फाइदाका लागि प्रयोग गर्न पाइँदैन)

लाइसेन्स अनिवार्य हुन्छ (प्रत्येक देशमा आफ्नो नियामक निकायले अनुमति दिन्छ)

सीमा रहित सञ्चार सम्भव (देश–देशबीच सिधा सम्पर्क गर्न सकिने)

नयाँ प्रविधिको परीक्षण र विकासको क्षेत्र

यस्तो छ इतिहास

१९३२ सम्ममा, नयाँ रेडियो अनुरागी संघलाई अन्तर्राष्ट्रिय रेडियो परामर्श समिति (सीसीआईआर) मा स्वीकृति दिइयो। सीसीआईआरलाई आजको आईटीयू रेडियोकम्युनिकेशन सेक्टर (आईटीयू-आर) को पूर्ववर्ती मानिन्छ। यसले हामीलाई आईटीयूको सदस्यत्वमा सबैभन्दा पुराना गैर-राज्य अन्तर्राष्ट्रिय संघहरू मध्येकै एक बनाएको छ।

आज पनि यो संस्थाका पदाधिकारीहरु अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का वर्ल्ड रेडियोकम्युनिकेशन, वर्ल्ड टेलिकम्युनिकेशन डेभलपमेन्ट र प्लेलिपोटेन्सियरी सम्मेलनहरूमा साथै यसको टेलिकम्युनिकेशन डेभलपमेन्ट एडभाइजरी ग्रुप लगायत अन्य बैठकहरूमा सक्रिय सहभागिता जनाइरहेका छौं।

संस्थाले आईटीयूसँग मिलेर साझा रेडियो स्पेक्ट्रमको प्रयोग प्रवर्द्धन गर्न र सबै मानिसहरूलाई आपसमा जोड्ने लक्ष्य प्राप्त गर्न योगदान दिने गौरवशाली काम पनि गरेको छ।

विगतका दशकहरूमा, विभिन्न देश र समुदायहरूबाट आएका स्वयंसेवकहरूमार्फत आईएआरयू र रेडियो अनुरागी सेवाहरूलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय नियामक निकायहरूमा प्रतिनिधित्व गर्दै आएको छ। आईटीयू र क्षेत्रीय टेलिकम संगठनहरूमा संस्थाको सक्रिय सहभागिता यिनै स्वयंसेवकहरूको समर्पणबाट सम्भव भएको संस्थाको बुझाई छ।

कसैसँग स्पेक्ट्रम नियमनको अनुभव छ भने कसैसँग सञ्चार तथा इलेक्ट्रोनिक्समा प्राविधिक पृष्ठभूमि छ। आईटीयू को प्रक्रिया भित्र रहेर, उनीहरूले प्रतिनिधिहरू, उद्योग क्षेत्रका व्यक्तिहरू र आईटीयू स्टाफहरूसँग समन्वय गर्दै सबैका लागि रेडियो स्पेक्ट्रमको प्रयोग सुधार गर्न योगदान दिएका छन्।

सुरुआतदेखि नै, आईएआरयू साँचो अर्थमा एक स्वयंसेवी संस्था हो जसको बजेट अत्यन्त सानो छ। तर हामी आईटीयू सँग आपतकालीन सञ्चार, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) को प्रवर्द्धन, विशेषगरी विकासशील राष्ट्रहरू र युवाहरूबीच, जस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्छ।

आईएआरयूले आईटीयूको टेलिकम्युनिकेशन डेभलपमेन्ट सेक्टर (आईटीयू-डी) सँग मिलेर स्मार्ट सस्टेनेबल डेभलपमेन्ट मोडल, विकासशील देशका नियामक कर्मचारीहरूको प्रशिक्षण कार्यक्रम, र विश्वव्यापी आपतकालीन सञ्चार कार्यशालाहरूमा सहकार्य गरेको छ।

धेरै पटक, रेडियो अनुरागी सेवाहरूले विपद्का बेलामा अत्यावश्यक सञ्चार सुविधा उपलब्ध गराएका छन्। प्रायः, संकटको पहिलो २४ देखि ४८ घण्टासम्म रेडियो अनुरागीहरूमार्फत मात्र सञ्चार सम्भव भएको छ।

रेडियो अनुरागीहरूसँग आफ्नै उपकरण, आफ्नै सञ्जाल, र आवश्यक सञ्चार गर्न आधारभूत सामग्री प्रयोग गर्ने सीप हुन्छ। यस्तो समयमा रेडियो अनुरागीहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन्।

आईटीयूको समन्वयमार्फत, आईPएआरयू ले १९४७ मा २१ मेगाहर्ट्जको विश्वव्यापी ब्यान्ड, १९७९ मा १०, १८ र २४ मेगाहर्ज ब्यान्ड, २००३ मा ७ मेगाहर्ट्ज ब्यान्डको विस्तार र आपतकालीन सञ्चारलाई सहज बनाउने आईटीयू नियम २५.४ मा सुधार जस्ता प्रमुख स्पेक्ट्रम प्राप्त गरेको छ।

हालका उपलब्धिहरूमा २००७ मा १३६ किलोहर्ज, २०१२ मा ४७२ किलोहर्ज, २०१५ मा ५ मेगाहर्ट्ज र २०२३ मा १२४०-१३०० मेगाहर्जको दायरामा रेडियो नेभिगेशन स्याटेलाइट सेवा (आरएनएसएस) सँग द्वितियक रेडियो अनुरागी र स्याटेलाइट सेवाको सहअस्तित्वको निर्णय समावेश छ।

यी परिवर्तनहरूले विश्वभरका लाखौं रेडियो अनुरागीहरूका लागि के अर्थ राख्छन्?

सबैभन्दा पहिले यिनीहरुले निरन्तर प्रयोगात्मक कार्य गर्न सक्ने र सबैका लागि स्पेक्ट्रम प्रयोगलाई सुधार गर्न सक्ने क्षमता राख्छन्। रेडियो अनुरागीहरूले डिजिटल सञ्चारमा पनि प्रगति गरिरहेका छन्। नयाँ डिजिटल मोडहरू निरन्तर विकास हुँदै जानेछन्।

यसबाहेक आईएआरयू स्याटेलाइट सञ्चारको अग्रपंक्तिमा छौं। धेरै विद्यालय र विश्वविद्यालयहरूले रेडियो अनुरागी स्याटेलाइट फ्रिक्वेन्सीहरू प्रयोग गर्ने क्युबस्याट निर्माण गरिरहेका छन् –जुन शैक्षिक प्रयोग हो र आईटीयूका तर्फबाट हामीले समन्वय गरिरहेका छौं।

रेडियो अनुरागीहरूले १४४ मेगाहर्ज माथिका आवृत्तिहरू, पृथ्वी-मून-पृथ्वी सञ्चार, र १.२ गीगाहर्ज वा सोभन्दा माथिका माइक्रोवेभ प्रयोगहरूमा पनि प्रगति गरिरहेका छन्।

यी रोमाञ्चक नयाँ प्रयोगहरूका साथ, रेडियो अनुरागी सेवा युवाहरूबीच पुनः लोकप्रिय बन्दै गएको छ। आईएआरयू आगामी दशकहरूमा अझै सफलता प्राप्त हुने आशामा उत्साहित रहेको छ।

दोस्रो शताब्दीमा प्रवेश गर्दा आईएआरयू आईटीयूसँग आगामी परियोजना र साझेदारीहरूको प्रतीक्षा गरिरहेको छ। संस्था प्रमुख सेवाहरूको रक्षा गर्न, रेडियो अनुरागी सेवाको प्रवर्द्धन गर्न, र सबैका लागि रेडियो स्पेक्ट्रमको उपयोगलाई अझ प्रभावकारी बनाउन गर्वका साथ कार्य गरिरहेको छ।

(यो लेख अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट साभार लिईएको हो। -सम्पादक)

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया