ह्याक भयो क्यालिफोर्नियाका क्रसवाक, मस्क र जुकरबर्गका नक्कली सन्देशहरू देखा परे

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

काठमाडौं ।

उत्तरी क्यालिफोर्नियाका धेरै क्षेत्रहरूमा रहेका क्रसवाकहरू ह्याक गरिएका छन्। ह्याक भएका क्रसवाकहरूमा प्रविधि अरबपति इलन मस्क र मार्क जुकरबर्गको खिल्ली उडाउँदै नक्कली अभिवादनहरू देखाइएका छन्।

अहिले सिलिकन भ्यालीका अधिकारीहरूले अनुसन्धान गरिरहेको र क्रसिङहरूमा अडियो फङ्गसनलाई असक्षम पारिएको बताइएको छ जसमा सामान्यतया “वाक” (हिँड्नु) वा “वेट” (पर्खनुहोस्) भन्ने निर्देशनहरू बज्ने गर्दछन् भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

उक्त अचम्मको सन्देश सप्ताहन्तमा पालो अल्टो, रेडवुड सिटी र मेन्लो पार्कमा देखा परेको बताइएको छ जुन जुकरबर्गको विशाल मेटा क्याम्पसको घर भएको उल्लेख गरिएको छ।

क्रसवाकहरूमा नक्कली मस्कले पैदल यात्रीहरूलाई उनको साथी बन्न सहमत भएमा टेस्ला साइबरट्रक किन्न प्रस्ताव गरेको देखाइएको छ।

त्यसैगरी नक्कली जुकरबर्गले “रियल्स वान्स कल मि जुक” भनि बताएको उल्लेख गरिएको छ।

यो सन्देश कसले सिर्जना गर्यो वा क्रसवाकहरूमा कसरी देखाइए (प्ले भए) भन्ने कुरा अझै स्पष्ट नभएको उल्लेख गरिएको छ।

सान फ्रान्सिस्कोको दक्षिणमा रहेका प्रभावित क्षेत्रका अधिकारीहरूले बीबीसीलाई इन्जिनियरहरूले क्रसिङहरूमा कसरी छेडछाड गरिएको थियो भनेर अनुसन्धान गरिरहेको बताएका छन्।

क्यालिफोर्निया यातायात विभाग (क्यालट्रान्स) का प्रवक्ता पेड्रो क्विन्टानाले मेन्लो पार्क र पालो अल्टो क्षेत्र भित्रका लगभग १० वटा क्रसवाकहरू प्रभावित भएको बताएका छन्।

“तिनीहरू सबै अहिले टाइमर प्रणालीमा काम गरिरहेका छन् र नक्कली सन्देशहरू जारी गर्ने बटनहरू असक्षम पारिएका छन्” भनि उनले थप उल्लेख गरे।

सन्देशहरू सिलिकन भ्यालीभरि देखा परेको बताइएको छ जहाँ दुवै प्राविधिक अर्बपतिहरूको व्यवसाय रहेको छ।

मस्कको आवाजमा रहेको नक्कली सन्देशहरू मध्ये एकले टेस्लाको सञ्चालन रहेको पालो अल्टोमा मानिसहरूलाई स्वागत गरेको बताइएको छ।

“तपाईंलाई थाहा छ, तिनीहरू भन्छन् कि पैसाले खुशी किन्न सक्दैन। मलाई लाग्छ कि यो सत्य हो। भगवानलाई थाहा छ मैले प्रयास गरें” भन्ने सन्देश सामाजिक सञ्जालमा धेरै पटक साझा गरिएको भिडियोमा देख्न सकिने टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया