Technology Khabar ४ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
सामसङको एण्ड्रोइड अपडेटसँगको समस्या अझै जारी छ र कम्पनी वन यूआई ७ संस्करण बजारबाट हटाउन बाध्य भएको देखिन्छ। यस हप्ता आएका रिपोर्टहरूअनुसार सामसङले एण्ड्रोइड अपडेटमा गम्भीर बग अर्थात् समस्याहरू देखेको छ। यो अपडेट अप्रिल ७ बाट आधिकारिक रूपमा रोलआउट हुने घोषणा गरिएको थियो, तर अब त्यो योजना पछि सरेको हुन सक्छ।
सामसङ ले वन यूआई ७ संस्करण यस वर्ष जनवरीमा ग्यालेक्सी एस२५ सिरिजसँगै सार्वजनिक गरेको थियो, तर अन्य धेरै ग्यालेक्सी फ्ल्यागशिप फोन प्रयोगकर्ताहरूले अहिलेसम्म पनि कम्पनीबाट पहिलो एण्ड्रोइड ओएस अपग्रेड पाएका छैनन्।
एण्ड्रोइड को नयाँ समस्याबारे जानकारी विश्वसनीय सामसङ लिकस्टर आइसयुनिभर्सले यस हप्ता एक्समा दिएका हुन्। उनले बताएअनुसार ग्यालेक्सी एस२४ को दक्षिण कोरियाको फर्मवेयरमा ठूलो बग भेटिएको छ, जसका कारण वन यूआई ७ को विश्वव्यापी रोलआउट रोकिएको न्युज१८ ले उल्लेख गरेको छ।
त्यसै स्रोतअनुसार, दक्षिण कोरियामा धेरै प्रयोगकर्ताहरूले वन यूआई ७ अपडेट इन्स्टल गरेपछि आफ्नो ग्यालेक्सी फोन अनलॉक गर्न नसकेको बताएका छन्। सामसङ ले आधिकारिक रूपमा अपडेट रोकिएको पुष्टि गरेको छैन, तर सोमबार सामाजिक सञ्जालमा आएको व्यापक प्रतिक्रियाबाट हेर्दा, यो निर्णय चाँडै सार्वजनिक हुनसक्छ।
सामसङले आफ्ना फोनहरू एक्जिनोस र स्न्यापड्रागन चिपसेटको मिश्रणमा बिक्री गर्ने भएकाले, यसको आफ्नै चिपसेट प्रयोग गर्ने मोडेलमा समस्या देखिएको हुनसक्छ, तर यसलाई निश्चित रूपमा भन्न सकिँदैन।
सामसङको वन यूआई ७ संस्करणमा यति धेरै समस्या देखिनु अप्ठ्यारो विषय बन्दै गएको छ। कम्पनीले यो नयाँ अपडेट हालैका ग्यालेक्सी फोनहरूमा उपलब्ध गराइसकेको छ, तर डेभलपर टिमले परीक्षण गरेपछि पनि उही ओएसमा किन बग देखियो भन्ने कुरा बुझ्न कठिन भइरहेको छ।
सामसङले प्रयोगकर्ताहरूले उठाएका चासोलाई चाँडै सम्बोधन गर्नेछ र वाचा गरिएको ७ ओएस अपग्रेड प्रयोगकर्ताहरूले पाउने सुनिश्चित गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार