Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
पछिल्लो दशकमा कमजोर ग्रिड प्रणाली र इन्धनको बढ्दो मूल्यका कारण ऊर्जाको अभाव झेलिरहेको नाइजेरियामा सौर्य ऊर्जाको माग तीव्र रूपमा बढेको छ। यही आवश्यकतालाई सम्बोधन गर्दै आएको क्लिनटेक स्टार्टअप आर्नर्जीमा लगानीकर्ताहरूको चासो बढेको छ।
कम्पनीले हालै १ करोड ५० लाख डलर बराबरको सिरिज बी विस्तार लगानी जुटाएको छ। यो रकम गत वर्षको ३० लाख डलरको सिरिज बी१ सहित कुल १ करोड ८० लाख डलर पुगेको छ टेकक्रञ्चले उल्लेख गरेको छ।
सौर्य प्रणालीप्रतिको यो मागमा भएको वृद्धि नीति परिवर्तनसँग पनि जोडिएको छ। विशेषतः सन् २०२३ मेमा नाइजेरिया सरकारले दशौं वर्ष पुरानो इन्धन अनुदान हटाउने निर्णय गरेपछि यस्तो भएको हो। यस निर्णयपछि अन्तर्राष्ट्रिय र स्थानीय इन्धन मूल्यबीचको अन्तर सरकारले पूर्ति गर्ने अभ्यास अन्त्य भएको थियो।
त्यसयता पेट्रोलको मूल्य झन्डै ५०० प्रतिशतले बढेको छ। यसले वातावरणमा असर गर्ने भए पनि पहिले सस्तो विकल्प मानिने पावर जेनेरेटरहरू अब चलाउन झन् महँगो हुन थालेका छन्।
आर्नर्जीले पनि समयअनुसार आफ्नो प्रस्ताव बदलेको छ। “जब हामीले व्यवसाय सुरु गर्यौं, त्यतिबेला सौर्य ऊर्जालाई लगातार विद्युत् प्राप्त गर्ने उपायको रूपमा प्रस्तुत गरिन्थ्यो, लागत बचतको विषय थिएन,” कम्पनीका संस्थापक तथा सीईओ फेमी अडेयेमोले भने। “अब भने यो एउटा आर्थिक बहस बनेको छ, किनभने हामी ग्राहकलाई प्रस्ट देखाउन सक्छौं कि हाम्रो प्रणालीले पेट्रोल, डिजेल वा ग्रिड जुनसुकै प्रयोग गरिरहे पनि हरेक महिना कसरी खर्च घटाउँछ।”
अडेयेमोले आर्नर्जी सन् २०१३ मा स्थापना गरेका थिए, जसले आतिथ्य, शिक्षा, वित्त, कृषि र स्वास्थ्य क्षेत्रका घर तथा व्यवसायलाई सौर्य प्रणाली प्रदान गर्छ।
पहिले दिगोपनमा केन्द्रित रहेको यो व्यवसाय अहिले लागत बचतको रणनीतिमा रूपान्तरण भएको छ। बिल गेट्सद्वारा समर्थित ब्रेकथ्रु एनर्जी भेन्चर्सले २०१९ मा आर्नर्जीको ९ मिलियन डलरको सिरिज ए लगानीको नेतृत्व गरेको थियो।
प्रकाशित: २ बैशाख २०८२, मंगलवार