टीएसएमसीको पहिलो त्रैमासको आम्दानी बढे पनि ट्रम्पको कर नीतिले प्रभाव पार्न सक्ने

Technology Khabar २ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता टीएसएमसीले बिहीबार सार्वजनिक गर्ने पहिलो त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत ले बढ्ने अपेक्षा गरिएको छ। तर, कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण जोखिमसमेत देखाउने सम्भावना छ।

एप्पल र एनभिडियाजस्ता ग्राहकहरू भएका टीएसएमसीले अनलाइन उत्पादनहरूमा एआई फिचरहरू थप्ने प्रवृत्तिको फाइदा उठाएको छ। तर कम्पनी ट्रम्पको आयात शुल्क मात्र होइन, ताइवानको चिप उद्योगमा रहेको वर्चस्वमाथिको उनको आलोचनाबाट पनि प्रभावित हुन सक्छ।

कम्पनीले सन् २०२५ को मार्च ३१ सम्मको तीन महिनामा ३४७.८ अर्ब ताइवानी डलर (१०.७४ अर्ब अमेरिकी डलर) खुद नाफा कमाउने अनुमान गरिएको छ। यो अनुमान एलएसईजी स्मार्ट इस्टिमेटले १७ जना विश्लेषकहरूको प्रक्षेपणको आधारमा बनाएको हो। स्मार्ट इस्टिमेटले लगातार सटिक भविष्यवाणी गर्ने विश्लेषकहरूको अनुमानलाई बढी बढावा दिन्छ।

रोयटर्सका अनुसार यो अनुमान २०२४ को पहिलो त्रैमासिक नाफा २२५.५ अर्ब ताइवानी डलरसँग तुलना गरिएको हो।

टीएसएमसीले विदेशमा नयाँ कारखाना निर्माणमा अर्बौं डलर लगानी गरिरहेको छ, यद्यपि कम्पनीले अधिकांश उत्पादन ताइवानमै रहने बताएको छ। कम्पनीले गत महिना ट्रम्पसँग ह्वाइट हाउसमा १०० अर्ब डलर लगानीको घोषणा गरेको थियो, जुन एरिजोनामा बनाइँदै गरेका तीन प्लान्टका लागि पहिल्यै घोषणा गरिएको ६५ अर्ब डलरको अतिरिक्त हो।

ट्रम्पले ताइवानको चिप उद्योगको प्रशंसा गर्दै आएका छन् तर एकैसाथ शुल्क लगाउने चेतावनीसमेत दिएका छन्। उनले गत हप्ता भनेका थिए, यदि टीएसएमसीले अमेरिका भित्र कारखाना नबनाएमा उसले १०० प्रतिशत सम्मको कर तिर्नुपर्ने हुन्छ।

आइतबार उनले चीनमा बनेका स्मार्टफोन र कम्प्युटरहरूमा लगाइएको शुल्कबाट छुट धेरै दिन टिक्दैन भन्ने संकेत गर्दै सेमिकन्डक्टर क्षेत्रमा राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए।

“कम्पनीले भू-राजनीतिक जोखिम न्यूनिकरण गर्न विदेशी प्लान्टहरूमा लगानी दोब्बर पार्ने सम्भावना छ, यद्यपि यसले आगामी पाँच वर्षमा दुईदेखि तीन प्रतिशत अंकसम्म ग्रस मर्जिन घटाउन सक्छ,” विश्लेषक श्रीवन कुन्डोज्जालाले सेमीएनालिसिसका तर्फबाट भने।

“यसले टीएसएमसीलाई अमेरिकी सरकारबाट सकारात्मक व्यवहार पाउने सम्भावना बढाउनेछ र शुल्कको भार पनि कम पार्नेछ।”

क्याथे फिचर्सका विश्लेषक भेन्सन साईले भने, ‘टीएसएमसीका लागि अर्को जोखिम क्षेत्र एप्पलका आइफोनहरू रहेको बुझिन्छ जुन मुख्य रूपमा चीनमा उत्पादन हुने भएकाले शुल्कको मारमा पर्न सक्छन्।’

प्रकाशित: २ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया