अमेरिकामा आयातित सेमिकण्डक्टरमा पनि कर लाग्ने, छिट्टै घोषणा गरिने

Technology Khabar २ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आयात गरिने सेमिकन्डक्टर चिप्समा लगाइने शुल्क दर अर्को सातासम्म घोषणा गर्ने बताएका छन्। उनले यो क्षेत्रमा रहेका केही कम्पनीहरूसँग लचिलोपन देखाइने पनि उल्लेख गरेका छन्।

राष्ट्रपतिको यो प्रतिबद्धताले चीनमाथिको आपसी शुल्क प्रणालीबाट स्मार्टफोन र कम्प्युटरहरूलाई दिइएको छुट धेरै दिन नटिक्ने संकेत दिएको छ। ट्रम्पले सेमिकन्डक्टर क्षेत्रमा व्यापार पुनः सन्तुलनमा ल्याउने प्रयास गरिरहेका रोयटर्सले उल्लेख गरेको छ।

“हामीले यो विषयलाई अन्य धेरै कम्पनीहरूसँगको जटिलताबाट हटाउन खोज्यौं, किनभने हामी आफ्नै देशमा चिप्स र सेमिकन्डक्टरहरू बनाउने चाहन्छौं,” ट्रम्पले वेस्ट पाम बिचस्थित आफ्नो सम्पत्तिबाट वासिङ्टन फर्किंदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूसँग भने।

स्मार्टफोन जस्ता केही उत्पादनहरूलाई छुट दिइने कि नदिइने भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ नदिई भने, “तपाईंले केही लचिलोपन देखाउनु पर्छ। कोही पनि यति कठोर हुनु हुँदैन।”

त्यसअघि ट्रम्पले सेमिकन्डक्टर क्षेत्रमा राष्ट्रिय सुरक्षा व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए।

“हामी सेमिकन्डक्टर र पूरै इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलालाई राष्ट्रिय सुरक्षा शुल्क अनुसन्धान अन्तर्गत हेर्दैछौं,” उनले सामाजिक सञ्जालमा लेखे।
शुक्रबार ह्वाइट हाउसले चीनमाथि लगाइएको उच्च शुल्कबाट केही उत्पादनहरूलाई छुट दिने घोषणा गरेको थियो, जसले प्रविधि उद्योगले अमेरिका–चीन व्यापार तनावबाट मुक्ति पाउने र फोन तथा ल्यापटपजस्ता उपभोक्ता सामग्री सस्तो रहने आशा जगाएको थियो।

तर आइतबार ट्रम्पका वाणिज्य सचिव हावर्ड लुटनिकले चीनबाट आउने महत्वपूर्ण प्रविधि उत्पादनहरूमा आगामी दुई महिनाभित्र छुट्टै नयाँ शुल्क लगाइने स्पष्ट पारे। यसमा सेमिकन्डक्टर पनि समावेश हुनेछन्।

गत हप्ताको ट्रम्पको शुल्क सम्बन्धी बयानले वाल स्ट्रीटमा कोभिड महामारीपछिको सबैभन्दा ठूलो उतारचढाव ल्याएको थियो। ट्रम्पले जनवरी २० मा पदभार सम्हालेयता स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० इन्डेक्स १० प्रतिशतभन्दा बढी घटेको छ।

लुटनिकका अनुसार ट्रम्पले आगामी एक वा दुई महिनाभित्र स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा “विशेष प्रकारको शुल्क” लागू गर्नेछन्। सेमिकन्डक्टर र औषधि क्षेत्रमा लक्षित शुल्कसँगै यी नयाँ शुल्कहरू ट्रम्पको तथाकथित आपसी शुल्क प्रणालीभन्दा बाहिर पर्नेछन्। गत हप्तासम्म चिनियाँ आयातमा लाग्ने शुल्क दर १२५ प्रतिशत पुगेको थियो।

प्रकाशित: २ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया