एकलौटी बजार कब्जा गर्न अर्बौं डलर तिरेर ह्वाट्सएप र इन्स्टाग्राम किनेको भन्दै मेटामाथि छानबिन शुरु

Technology Khabar १ बैशाख २०८२, सोमबार

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स सोमबारदेखि वाशिङ्टनमा सुरु हुने एक उच्चस्तरीय मुद्दाको सामना गर्न गइरहेको छ। मुद्दामा मेटाले अर्बौं डलर खर्चेर इन्स्टाग्राम र ह्वाट्सएप किनेर अवैध रूपमा सामाजिक सञ्जालमा एकाधिकार बनाएको उल्लेख छ। अमेरिकी प्रतिस्पर्धा नियामक निकायहरूले ती सम्झौताहरू खारेज गराउन खोजिरहेका छन्।

अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) का अनुसार, यी खरिदहरू करिब एक दशकअघि सम्भावित प्रतिस्पर्धीहरूलाई हटाउन गरिएका थिए, जसले फेसबुकको प्रयोगकर्तामाझ लोकप्रिय सामाजिक सञ्जालको हैसियतमा खतरा उत्पन्न गर्न सक्थे। आयोगले यो मुद्दा सन् २०२० मा, राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा दायर गरेको हो।

एफटीसीले मेटालाई इन्स्टाग्राम र ह्वाट्सएप लगायतका व्यवसायिक हिस्सा पुनः संरचना गर्न वा बेच्न बाध्य बनाउन खोजेको रोयटर्सले उल्लेख गरेको छ।

मेटाका प्रमुख कानुनी अधिकृत जेनिफर न्यूस्टेडले आइतबार एक ब्लग पोस्टमार्फत मुद्दालाई कमजोर भन्दै प्रविधिमा लगानी रोक्ने प्रयास भनेकी छन्। “एफटीसीले अमेरिकी कम्पनी मेटालाई टुक्र्याउने प्रयास गरिरहँदा सरकारले चिनियाँ स्वामित्वमा रहेको टिकटकलाई जोगाउन खोज्नु हास्यास्पद हो,” उनले लेखेकी छन्।

यो मुद्दाले मेटाको अस्तित्वमा नै खतरा ल्याउन सक्छ। केही अनुमानअनुसार मेटाले अमेरिकामा प्राप्त गर्ने विज्ञापन आम्दानीको करिब आधा हिस्सा इन्स्टाग्रामबाट पाउँछ। यो मुद्दाले ट्रम्पको नयाँ प्रशासनले ठूलो प्रविधि कम्पनीहरूविरुद्ध कति कडा कदम चाल्छ भन्ने कुराको पहिलो ठोस सङ्केत दिनेछ।

ट्रम्पको निर्वाचनपछि मेटाले रिपब्लिकनहरूले सेन्सरशिपको आरोप लगाएका सामग्री नियन्त्रण नीतिहरू हटाएको थियो र ट्रम्पको सपथ ग्रहणका लागि १० लाख डलर सहयोग पनि दिएको थियो। मेटा सीईओ मार्क जुकरबर्ग हालका केही सातामा पटक–पटक ह्वाइट हाउस पुगेका छन्।

“ट्रम्प–भान्स एफटीसी यो मुद्दाका लागि पूर्ण रूपमा तयार छ,” एफटीसीका प्रवक्त्ता जो साइमनसनले भने, “हामीसँग देशका केही अत्यन्त मिहिनेती र बौद्धिक कानुन व्यवसायीहरू छन्, जो चौबीसै घण्टा काम गरिरहेका छन्।”

प्रकाशित: १ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया