Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
पाँचथर जिल्ला अदालतले प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई न्यायको पहुँचमा जोड्न थालेको छ। यो अदालतले पछिल्लो समय भौतिक रूपमा टाढा रहेका सेवाग्राहीको सुविधालाई लक्ष्य गरी भिडियो कन्फ्रेन्स’ मार्फत पक्षको बकपत्र, बयान र कानुन व्यवसायीको बहस गराउन थालेको हो।
यो प्रक्रिया थालेसँगै सेवाग्राहीको समय, खर्च र श्रमको बचत मात्र होइन, न्यायको पहुँच सहज बनाएको अदालतले जनाएको छ । अब भौतिक उपस्थितिबिना नै बयान, साक्षी बकपत्र तथा बहस पैरवी जस्ता संवेदनशील न्यायिक कार्य नियमित रूपमा ‘भर्चुअल’ माध्यमबाट सञ्चालन हुन थालेको अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारी गोपाल खनालले भने, “विशेषतः विदेशमा रहेका वा अदालतमा उपस्थित हुन नसक्ने मुद्दाका पक्ष, साक्षी तथा कानुन व्यवसायीका लागि यो अभ्यास निकै उपयोगी सावित भएको छ।”
उनले देशदेशान्तरमा रहेका वादी, प्रतिवादीसंग बयान, साक्षी बकपत्र तथा मेलमिलाप, छलफल जस्ता कार्य ‘भिडियो कन्फ्रेन्स’ मार्फत गरिंदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास व्यक्त गरे।
उनले भने, “समयमै बकपत्र र बयान लिएर मुद्दालाई चाँडै निष्कर्षमा पुऱ्याउन सकिन्छ भन्ने विश्वास लिएका छौं।”
पछिल्लो समय अदालतले पोर्चुगल, दुबई र ओमनमा रहेका बहुविवाहपीडित तीन महिलाको साक्षी बकपत्र ‘भर्चुअल’ माध्यमबाट लिएको थियो। ती महिला वैदेशिक रोजगारीमा रहेका बेला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेपछि दायर मुद्दामा अदालतले ‘भिडियो कन्फ्रेन्स’ मार्फत साक्षी बयान लिएको थियो।
त्यस्तै बाल सुधारगृह विराटनगरमा रहेका दुई बालक प्रतिवादीलाई ‘भर्चुअल’ रूपमा अदालतसँग
जोडेर डाक्टरको साक्षी वकपत्रसमेत लिइएको सूचना प्रविधि प्रमुख प्रीतम खतिवडाले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा सरकारवादी रहेको केसमा दुई प्रत्यक्षदर्शीको बयान पनि यही माध्यमबाट लिइएको थियो। वरिष्ठ अधिवक्ता खगराज कट्टेलले इलामबाटै अंश चलनसम्बन्धी मुद्दामा ‘भर्चुअल’ बहस गरेका थिए।
यसरी भौतिक रूपमा उपस्थित सबै सरोकारवालाले साक्षी, वादी, प्रतिवादी र कानुन व्यवसायीको भनाइ सुन्ने र हेर्ने सुविधा पाइरहेका छन्। खतिवडा भन्छन्, “भर्चुअल माध्यममा सहभागी हुनुअघि सम्बन्धित व्यक्तिलाई प्रविधिको तालिम दिइन्छ। उनीहरू तयार भएपछि मात्र बकपत्र, बहस, बयान वा आवश्यक कागजात सङ्कलन गरिन्छ।”
हालसम्म जिल्ला अदालतमा यस्ता अभ्यास विरलै हुने गरेका छन्। गत असोजमा भने पाँचथरमा सरुवा भएर आएका न्यायाधीश कुमार मास्केको निर्देशन र पहलमा यसप्रकारको अभ्यास प्रारम्भ गरिएको हो। कोशी प्रदेशमा ‘भर्चुअल’ माध्यमबाट साक्षी बकपत्र, बयान र बहस पैरवीको नियमित अभ्यास सुरु गर्ने पाँचथर जिल्ला अदालत सम्भवतः पहिलो भएको अदालतले दावी गरेको छ।
छिटो सूचना प्रविधिको प्रयोगले न्यायिक प्रक्रिया सरल, र पहुँचयोग्य बनाउने पांचथर जिल्ला अदालतको प्रयास न्याय क्षेत्रमा प्रविधिको समुचित प्रयोग कसरी प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। सेवाग्राही यसबाट सन्तुष्ट छन्। न्याय पाउन समयमै पहुँच, प्रक्रियामा पारदर्शिता र सेवा सहजताको अनुभवले उनीहरू आशावादी छन्।
आजको गोरखापत्रबाट
प्रकाशित: १ बैशाख २०८२, सोमबार